
सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट ६ जनालाई समानुपातिक सांसदको बन्दसूचीमा समावेश गरेको छ । १० जिल्ला र १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा एमालेको समानुपातिक सूचीमा ५ जिल्ला भने समेटिएका छैनन् ।
निर्वाचन आयोगमा दर्ता गरिएको बन्दसूचीअनुसार एमालेले कर्णालीका सबै जिल्लाबाट नाम समावेश गर्न सकेको छैन। बन्दसूचीमा परेकामध्ये अधिकांश पुरानै अनुहार दोहोरिएका छन् ।
खस–आर्य कोटातर्फ हुम्लाका गोरखबहादुर बोगटी, सुर्खेतका बालाराम शर्मा, जाजरकोटका लालबहादुर महतारा र कालिकोटका दुर्गाबहादुर शाही, आदिवासी जनजातितर्फ मुगुका सोनाम छिरिङ लामा र अपाङ्गता कोटाबाट कालिकोटकी यशोदा बराल समानुपातिक बन्दसूचीमा समावेश छन् ।
कालिकाेटबाट दुइ जना समानुपातिककाे बन्द सूचिमा समावेश हुँदा जुम्ला, दैलेख, सल्यान, रूकुमपश्चिम, र डाेल्पाबाट एमालेले कसैलाइ पनि समानुपातिक उम्मेद्वारकाे बन्दसूचिमा समेटेकाे छैन ।
सूचीमा परेकामध्ये गोरखबहादुर बोगटी र बालाराम शर्मा पुराना नेता हुन् । बोगटीले ०४८ र ०५१ सालको संसदीय निर्वाचनमा पराजय बेहोरे पनि ०५६ सालमा हुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए
सुर्खेतका बालाराम शर्मा एमाले सुर्खेतका संस्थापक नेतामध्येका एक हुन् । ०५१ सालमा वीरेन्द्रनगर नगरपालिकाका मेयर बनेका उनी लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका छन् ।
जाजरकोटका लालबहादुर महतारा पनि पुरानै पुस्ताका नेता हुन् । उनले एक पटक संसदीय निर्वाचनमा उम्मेदवारी दिए पनि सफल हुन सकेनन् ।
कालिकोटका दुर्गाबहादुर शाही, मुगुका सोनाम छिरिङ लामा र कालिकोटकी यशोदा बराल भने यसपटक समानुपातिक सूचीमा परेका नयाँ अनुहार हुन् ।
प्रतिक्रिया दिनुहोस्