
सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ पछि निर्वाचित जनप्रतिनिधि पदबहाली गरेयता भेरीगंगा नगरपालिकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा र रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नगरपालिकाले सीमित स्रोतसाधनबीच पनि नागरिकको जीवनस्तर सुधारमा केन्द्रित रही दीर्घकालीन प्रभाव पर्ने खालका कार्यक्रम र विकास निर्माणका काम अघि बढाएको नगरप्रमुख यज्ञप्रसाद ढकालले बताएका छन्।
बुधबार भेरीगंगा नगरपालिका–५ गिद्देडाँडामा सञ्चारकर्मी र नगरपालिकाबीच आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख ढकालले हालसम्म नगरपालिकाले गरेका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेका हुन्।
नगरपालिकाले जटिल प्रकृतिका १० प्रकारका रोग—मुटु, मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, हिमोफिलिया र प्यारालाइसिसबाट पूर्ण असक्त भेरीगंगा निवासी नागरिकलाई मासिक दुई हजार रुपैयाँ उपचार तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा दीर्घरोगी नागरिकलाई ठूलो राहत पुगेको नगरपालिकाको दाबी छ।

पूर्वाधार विकासतर्फ नगरपालिकाको प्रशासकीय भवन निर्माण तोकिएकै समयभित्र सम्पन्न भई हाल सोही भवनबाट सेवा प्रवाह भइरहेको छ। छिन्चु बजार चोकदेखि इलाका प्रहरी कार्यालयसम्म, नगरपालिका कार्यालय हाताभित्र तथा फोहरमैला प्रशोधन केन्द्रसम्मका सडक कालोपत्रे गरिएको छ। साथै प्रमुख बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्दै फोहरमैला व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाइएको छ।

स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि नेपाल रेडक्रस सोसाइटी, जिल्ला आँखा अस्पताल सुर्खेतसँगको सहकार्यमा छिन्चुमा आँखा उपचार केन्द्र स्थापना गरी नियमित सेवा सञ्चालन गरिएको छ। वडा नं. १, २ र ४ मा नयाँ स्वास्थ्य संस्था स्थापना गरिनुका साथै माथिल्लो भर्याङ्ग स्वास्थ्य भवन सम्पन्न गरिएको छ भने मैनतडा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अघि बढेको छ। जहरेमा आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न भई सेवा सुरु भइसकेको छ।
शिक्षा क्षेत्रमा हिमशिखर बहुमुखी क्याम्पस रामघाटको भौतिक संरचना निर्माण सम्पन्न गरी फर्निचरको व्यवस्था गरिएको छ भने कृषि क्याम्पस रामघाटमा ल्याब भवन निर्माण गरिएको छ। मावि मोहटी, भर्याङ्ग, हरें, च्यूरीगैरा, झिलमिले, छिन्चु, झिनी, काँसीपुर, लालिगुराँस लगायत दर्जनभन्दा बढी विद्यालयका भवन निर्माण सम्पन्न भएका छन्। चालु वर्ष मावि सनिमोर र आवि मूरलीखोलामा भवन निर्माण कार्य भइरहेको छ।
नगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणका लागि भूमि आयोगसँग समन्वय गरी नापजाँच र प्रमाणीकरण कार्य अघि बढाएको छ। साविक मैनतडाको कोटमाझखर्कलगायत केही स्थानमा पुर्जा वितरणसमेत भइसकेको छ।

सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा डिजिटल हाजिरी प्रणाली लागू गरिएको छ। कार्यालय र बजार क्षेत्रमा सीसी क्यामरा जडान गरिनुका साथै सेवाग्राहीका लागि शुद्ध खानेपानी उपलब्ध गराउन ठूलो फिल्टर मेसिन जडान गरिएको छ।
रोजगारी प्रवर्द्धनतर्फ नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जान चाहने नगरवासीलाई व्यक्तिगत तथा पुनः श्रम स्वीकृति दिने व्यवस्था सुरु गरिएको छ। समस्यामा परेका वैदेशिक रोजगारमा रहेका नागरिकलाई सहयोग गर्ने कार्यसमेत अघि बढाइएको छ। उपप्रमुख स्वरोजगार कार्यक्रम र ‘गरिबसँग नगरप्रमुख’ कार्यक्रममार्फत स्थानीयस्तरमै रोजगारी सिर्जनामा जोड दिइएको छ।
सबै वडामा सडक विस्तार गरिएको छ भने अति दुर्गम क्षेत्र मनिरामकाँडासम्म सडक पुर्याइएको छ। खानेपानीतर्फ बसेरी, मैनटार, सानो डुंगी, सानो हरें, भर्लेनी, घारीवन, जहरे, घ्वानेल टोल, हात्तीसँडे, काउले, मदानीचौरलगायत ११ वटा खानेपानी योजना सम्पन्न भएका छन्। चालु वर्ष थप आठ वटा योजना निर्माणाधीन छन् भने केही योजनाको मर्मतसम्भार गरिएको छ।

सिँचाइ व्यवस्थापनका लागि विभिन्न स्थानमा कुलो निर्माण र डिप बोरिङमार्फत सिँचाइ सुविधा विस्तार गरिएको छ। चार विद्यालयमा शौचालय निर्माण सम्पन्न भइसकेको छ भने तीन वटा शौचालय निर्माणाधीन छन्। मैनतडामा रंगशाला र औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिएको छ। पर्यटन प्रवर्द्धनका लागि वराहडाँडा, गिद्देडाँडा, देउतीबज्यै, दुर्गा मन्दिर, रामजानकी मन्दिर र रामजानकी सहिद पार्कजस्ता पर्यटकीय स्थलको विकास गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल प्रोफाइल निर्माण गरिएको छ भने कृषि वन रणनीति, जलवायु अनुकूलन योजना, खाद्य अधिकार तथा पोषण रणनीति समेत तयार गरिएको छ।

नगरप्रमुख ढकालले “भेरीगंगालाई सुशासित, आत्मनिर्भर र नागरिकमैत्री नगरपालिका बनाउने लक्ष्यका साथ विकास निर्माणका कामलाई निरन्तरता दिइएको” भन्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्