
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतले उम्मेद्वार सिफारिसको टुङ्गो लगाएको छ । शुक्रबार बसेको जिल्ला कमिटी बैठकले सुर्खेतका दुई वटै क्षेत्रमा उम्मेद्वार सिफारिस नेकपाका नेता जीत बहादुर रानाले जानकारी दिए ।जस अनुसार प्रत्येक्षतर्फ क्षेत्र नम्बर १ बाट जीतबहादुर राना र क्षेत्र नम्बर २ बाट झकबहादुर मल्ल ‘सुदीप’लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट दलिततर्फ मोती विक, भक्तबहादुर केसी, जयबहादुर सुनार, निरुता रसाइली, खस आर्यतर्फ अमृतप्रसाद जैसी, भूपेन्द्रबहादुर रावत, उदिराम डाँगी, आदिवासी जनजातितर्फ गोकर्णबहादुर गुरुङ, श्यामप्रकाश हुन्चिङ तथा महिलातर्फ देउकली थापाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट दलिततर्फ अम्बरबहादुर दमाई, धनबहादुर विक, भुमिसरा टमटा, खस आर्यतर्फ केदारकुमार कँडेल, महिलातर्फ हरिमाया शर्मा, डिलु कुमारी खड्का, शान्ति ढकाल, धनकुमारी जिसी तथा आदिवासी जनजातितर्फ टकबहादुर घर्तीको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्ष निर्वाचनमा नेकपाले दुइवटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । शुक्रबार उम्मेद्वार सिफारिस भएका मल्ल र राना यसअघि संसदीय निर्वाचनमा भिडेका छैनन् । उमेरका हिसावले समेत दुबै जना युवा नेताहरुमा पर्दछन् । दुई जना युद्धकालीन जनमुक्ति सेनाका लडाकु हुन् । मल्ल माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत भइसकेका नेता हुन् । युद्धकालमा चर्चित सुर्खेत जेलब्रेक घटनाका कमान्डर थिए ।
क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका जीतबहादुर राना २०४७ सालमा मालेको सदस्यता लिएर विद्यार्थी राजनीतिबाट उदाएका हुन् । उनी २०५८ सालमा माओवादीमा प्रवेश गरेका उनले अवलचिङ जनसरकार प्रमुख हुँदै जनमुक्ति सेनाको कम्पनी कमिसारसम्मको जिम्मेवारी सम्हालेका थिए ।
क्षेत्र नम्बर १ मा राना र क्षेत्र नम्बर २ मा मल्लले अब नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् । कांग्रेसबाट क्षेत्र नम्बर १ मा पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्रीसमेत रहिसकेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस भइसकेको छ भने एमालेले हालसम्म उम्मेदवार तय गरेको छैन । राना हाल माओवादी केन्द्रका सुर्खेत जिल्ला संयोजक हुन् भने मल्ल जिल्ला इन्चार्ज हुन् ।
प्रतिक्रिया दिनुहोस्