२०८३ वैशाख ६ , आइतबार
सवारी दुर्घटना

गाडीको ठक्करबाट एक जनाको मृत्यु



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब ५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–१ स्थित टेम्पो पार्क नजिक अज्ञात गाडीको ठक्करबाट दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनाको पुष्टि गरेको छ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए।

प्रहरी निरीक्षक मगराठीका अनुसार हालसम्म ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन। “मदिरा सेवन गरेर सडकमा सुतिरहेको अवस्थामा गाडीले किचेको भन्ने प्रारम्भिक जानकारी छ,” उनले भने, “कुन गाडीले ठक्कर दिएको हो भन्ने खुल्न बाँकी छ।”

घटनापछि प्रहरीले आसपासका सिसिटिभी क्यामेराको फुटेज संकलन तथा अध्ययन सुरु गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार