२०८३ वैशाख ६ , आइतबार

अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न माग



सुर्खेत । कर्णालीका अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । अपांगता क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले गठन गरिएको प्रादेशिक समन्वय कार्यसमूहसँग दुई दिने अभिमुखीकरण कार्यक्रममा सराेकारवाला नियकाले यस्ताे माग गरेका हुन् ।  राष्ट्रिय अपांग महासंघ नेपाल र कर्णाली प्रदेश कार्यालयको आयोजनामा बुधबार र बिहिबार कार्यक्रम सञ्चालन गरिएको हो। सिबीएम ग्लोबलको सहकार्यमा ‘हामीलाई पनि समावेश गर परियोजना-२’ अन्तर्गत अभिमुखीकरण गरिएको हो।

अभिमुखीकरणमा यस वर्षदेखि लागू भएको परियोजना, अपांगताको अवधारणा, वर्गीकरण, परीक्षण, अपांगता समावेशी विकास र प्रादेशिक कार्यसमूहको कार्ययोजनाबारे छलफल गरिएको थियो। प्रादेशिक समन्वय कार्यसमूहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश योजना आयोग, राष्ट्रिय मानवअधिकार आयोग, गाउँपालिका तथा नगरपालिका महासंघ, राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेश, अटिजम केयर नेपाल, बौद्धिक अपांगता अभिभावक संघ, भेरी बहिरा संघलगायत सरोकारवाला निकाय सहभागी छन्।

अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न, नीति तथा कार्यक्रम प्रभावकारी बनाउन र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय बढाउने उद्देश्यले कार्यसमूह गठन गरिएको हो। यसैबीच बिहिबार सम्पन्न कार्यसमूहको बैठकले सामाजिक विकास मन्त्रालयलाई संयोजक, राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशलाई सचिवालय तोक्ने, सञ्चार समूह गठन गर्ने र कार्ययोजना तय गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार