
सुर्खेत । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको आयोजनामा विपद् जोखिम व्यवस्थापन तथा मानवीय सेवा सम्बन्धी प्रदेशस्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा कर्णाली प्रदेश सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले विपद् जोखिम व्यवस्थापन र आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
बैठकमा विपद् जोखिम न्यूनीकरण, आपतकालीन तयारी र प्रतिकार्यमा सरोकारवाला निकायको साझा भूमिकाबारे समीक्षा गरिएको थियो। साथै प्रदेशमा पूर्ण सरसफाइ कार्यक्रम, मनोसामाजिक परामर्श सेवा, प्रदेशस्तरीय रक्त बैंक स्थापना र रक्तसञ्चार व्यवस्थापन सफ्टवेयर सञ्चालनमा जोड दिइएको छ। यस्तै, एम्बुलेन्स सेवा, गोदाम व्यवस्थापन, नगरपालिका स्तरमा राहत सामग्री भण्डारण, विपद् सम्बन्धी ड्रिल तथा सिमुलेसन अभ्यास, खाद्य तथा गैर–खाद्य सामग्री व्यवस्थापन, यातायात र जीविकोपार्जन सम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
बैठकले कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण, आपतकालीन तयारी तथा मानवीय सेवाका क्षेत्रमा दीगो सहकार्य र समन्वयलाई अझ बलियो बनाएको निष्कर्ष निकालेको छ। प्रदेश समिति अध्यक्ष लीलाराम सुवेदीका अनुसार रेडक्रसले स्वयंसेवक, कर्मचारी र समुदायलाई खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका विषयमा तालिम दिँदै सशक्त बनाउँदै आएको छ। उहाँले विपद् व्यवस्थापनमा रेडक्रसको सेवा र पहुँच विस्तारमा जोड दिइएको बताउनुभयो।
उहाँका अनुसार प्रदेश तथा जिल्ला शाखा र स्थानीय सरकारलाई विपद् तयारी तथा प्रतिकार्य योजना बनाउन सहजीकरण गरिएको छ। साथै भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम र कम लागतका प्रकृतिमैत्री संरचना निर्माणमा पनि रेडक्रसले योगदान पुर्याउँदै आएको छ। रेडक्रस कर्णालीका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्रीले सातै प्रदेशमा रेडक्रसका प्रदेशस्तरीय कार्यालय स्थापना भई सक्रिय रूपमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समिति २०७५ चैत २० गते गठन भएको हो। हाल कर्णाली प्रदेशमा १० जिल्ला शाखा, १२१ नगरपालिका उपशाखा र ३०१ जुनियर तथा युवा रेडक्रस सर्कल सञ्चालनमा छन्। साथै करिब १ हजार ५०० जना प्रशिक्षित स्वयंसेवक सक्रिय रूपमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस्