२०८३ वैशाख ६ , आइतबार

दलहरुलाई पाखा लगाउने सोच त्याग्नुपर्छ : मुख्यमन्त्री कडेल




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन चाहिने हो भने प्रमुख राजनीतिक दललाई पाखा लगाउने सोच त्याग्नुपर्ने बताएका छन् । मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कडेलले सरकारका केही गतिविधिकै कारण निर्वाचनका लागि अनुकूल वातावरण बन्न नसकेको धारणा राखे । उनले भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्था कमजोर बन्दै गएको बताए ।
‘यहाँ खुला रूपमा नबोलिए पनि सुरक्षाकर्मी साथीहरू मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ । परेमा हतियार प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योल छ, यस्तो अवस्थामा निर्वाचनको वातावरण कसरी बन्छ ?” उनले प्रश्न गरे । मुख्यमन्त्री कडेलले निर्वाचनका सन्दर्भमा दलहरूबीच नै सहमति नभएकाले अन्योल बढेको भन्दै सरकारले दलीय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए। मतदान केन्द्रमा चार जना प्रहरीको भरमा मात्रै सुरक्षा सम्भव नभएको उल्लेख गर्दै सबै दलको सहभागिता र सहमतिले मात्र निर्वाचन सम्भव हुने उनको भनाइ थियो ।


त्यसैगरी, कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना, लागू पदार्थ दुव्र्यसनजस्ता समस्यामा सुरक्षा निकायले कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए। कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र साधनस्रोतको अवस्था दयनीय रहेकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई कठिनाइ भएको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार