सुर्खेत । जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले किस्ता–किस्तामा सेवाग्राहीलाई सेवा दिन थालेको छ । पूर्ण रूपमा ध्वस्त भएको कार्यालयले आवश्यक पूर्वाधार जडान गरेपछि सीमित सेवा पुनः सुरु गरेको हो ।
कार्यालयले गत मङ्सिर १ गतेदेखि अनलाइन (नेलिस) प्रणालीमा रहेका कित्ताको नक्सा प्रिन्ट सेवा सुरु गरेको थियो । त्यसपछि यही पुस १ गतेदेखि नेलिस प्रणालीमै आबद्ध अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरण सेवा पनि सुरु गरिएको छ ।
नापी कार्यालय सुर्खेतका प्रमुख नापी अधिकृत दिनेशकुमार भण्डारीका अनुसार आगजनीपछि एक महिनाको अन्तरालमा किस्ता–किस्तामा सेवा विस्तार गरिएको हो । हालसम्म करिब ७५ प्रतिशत आवश्यक सेवा सञ्चालनमा ल्याउन सफल भए पनि पूर्ण सेवा दिन अझै समय लाग्ने उनले बताए ।
उनका अनुसार तत्काल वायरिङ, नेटवर्किङ तथा न्यूनतम पूर्वाधार तयार भएपछि अत्यावश्यक सेवा मात्र सुरु गरिएको हो । अहिले अनलाइन प्रणालीमा आबद्ध कित्ताको मात्र सेवा दिइँदै आएको छ । साबिक गाउँ ब्लक, भूमिसम्बन्धी आयोगबाट वितरण भएका जग्गा तथा नयाँ नापी लागू भएका वीरेन्द्रनगर–७, ८ र ९ का सबै सेवा भने अझै सुरु हुन सकेका छैनन् ।
भण्डारीले बैंकिङलगायत कामका लागि आवश्यक कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरण सेवाले सेवाग्राहीलाई ठूलो राहत मिल्ने बताए । उनले सेवा सञ्चालन भएका क्षेत्रका सेवाग्राहीलाई आफूसँग भएका जग्गासम्बन्धी कागजात र नक्सा लिएर कार्यालय आउन आग्रह गरे ।
अहिले पनि ‘हार्डडिस्क रिकभर’ नभएकाले अन्य सेवा दिन नसकिएको र त्यसका लागि नापी विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ । क्षतिग्रस्त कार्यालय पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गत भदौमा भएको आगजनीबाट नापी कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए । करिब चार सय प्लट रजिस्टर जलेपछि कार्यालयले नयाँ रजिस्टर मगाएर हातैले पुनःस्थापना गरेको थियो । आगजनीबाट करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको कार्यालयको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्