२०८३ वैशाख ६ , आइतबार
गति लिंदै भेरी पम्पिङ आयोजना

अमृतडाँडामा ट्याङ्की बन्दै, पाइपलाइन विस्तार गरिदै



सुर्खेत । लामो समयदेखि चर्चा रहेको भेरी पम्पिङ खानेपानी आयोजनाले गति लिन थालेको छ । आयोजना अन्तरगत हाल पाइपलाइन विस्तार र पानी ट्याङ्की निर्माण सँगसँगै अगाडि बढेको हो ।
आयोजना प्रमुख सञ्जिवकुमार साहका अनुसार प्याकेज–१ अन्तर्गत अमृतडाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम सुरु भएको छ भने बजार क्षेत्रका विभिन्न स्थानमा पानी आपूर्ति पाइप बिछ्याउने कार्य भइरहेको छ । पानी वितरणका लागि आवश्यक ३४ किलोमिटर पाइप मध्ये हालसम्म २३ किलोमिटरको ठेक्का लागिसकेको छ र १२ किलोमिटर पाइप बिछ्याइसकिएको छ ।
भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा अघि बढाइएको हो । आयोजना अन्तर्गत आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने लक्ष्य राखिएको छ । यसका लागि करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।
संघीय सरकार, प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा विश्व बैंकको सहयोगमा आयोजना कार्यान्वयन भइरहेको छ । संघीय सरकारको ८० प्रतिशत र प्रदेश तथा स्थानीय तहको २० प्रतिशत लगानी रहनेछ ।
आयोजना सम्पन्न भएपछि वीरेन्द्रनगरका १ देखि १३ वडासम्मका नागरिकले दीर्घकालीन रूपमा सुरक्षित र पर्याप्त खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ ।
दोस्रो प्याकेज अन्तर्गत वीरेन्द्रनगरमा खानेपानी वितरण लाइन निर्माणको प्रक्रिया अघि बढेको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले वितरण लाइन निर्माणका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ ।
प्याकेज–२ अन्तर्गत भेरी नदीबाट लिफ्टिङ प्रविधिबाट ल्याइएको पानी वीरेन्द्रनगर उपत्यकाका घर–घरमा वितरण गर्ने प्रणाली जडान गरिनेछ । आयोजना इकाई कार्यालयका अनुसार पहिलो चरणका कामहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।
वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले कानुनी प्रक्रिया पूरा भएसँगै आयोजना द्रुत गतिमा अघि बढेको बताइन् । उनका अनुसार रुख कटान, मुहान क्षेत्रमा इन्टेक निर्माण तथा पानी शुद्धीकरण क्षेत्रको संरचना निर्माण सुरु भइसकेको छ ।

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार