
सुर्खेत । कोपिला भ्याली सेवा समाजको आयोजनामा रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । अस्पतालमा हुने रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष गोगनबहादुर मल्लले नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाबाट प्रदेश अस्पतालमा रगतको अभाव भएको जानकारी प्राप्त भएपछि छोटो समयमै रक्तदान कार्यक्रम आयोजना गर्न सफल भएको बताए । उनले मानवीय सेवामा सहभागी हुन पाउनु संस्थाका लागि गर्वको विषय भएको उल्लेख गरे ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाका अध्यक्ष अशोक कुमार सिंहले विद्यार्थी तथा युवा वर्गलाई रगत र रक्ततत्वको महत्वबारे जानकारी गराउँदै कोपिला भ्यालीमा कार्यरत कर्मचारीसहित अन्य स्वयंसेवी रक्तदाताबाट रगत संकलन गरिएको बताए । उनका अनुसार यस कार्यक्रमले रगतको अभाव केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता (८९ पटक) प्रवाश कुमार शाक्यले समाजमा “रक्तसञ्चार केन्द्रमा सधैं रगत उपलब्ध हुन्छ” भन्ने गलत सोच त्याग्न आवश्यक रहेको बताए । उनले भने, “रक्तसञ्चार केन्द्रमा रगत स्वयंसेवी रक्तदाताले रक्तदान गरेपछि मात्र उपलब्ध हुन्छ । त्यसैले १८ वर्ष उमेर पूरा गरेका सम्पूर्ण स्वस्थ युवायुवतीलाई रक्तदानमा सक्रिय हुन म आग्रह गर्छु । रगत चाहियो भने अरूबाट मात्र लिने सोच त्यागेर सबैले मानवीय जीवनको महान कार्य—रक्तदान—गर्नुपर्छ, किनकि रगतको कुनै विकल्प हुँदैन।”
कोपिला भ्याली सेवा समाजका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले रक्तदानजस्तो पुण्य र मानवीय कार्यमा सहभागी हुन पाएकोमा गर्व महसुस भएको बताए । उनले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्