२०८३ वैशाख ६ , आइतबार

विपन्न र अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सहयोग



सुर्खेत । निजी क्षेत्रले वीरेन्द्रनगरका सामुदायिक विद्यालयमा अध्ययनरत अति जेहनदार, विपन्न तथा अपाङ्गता भएका नौ जना बालबालिकाको शैक्षिक खर्च बेहोर्ने जिम्मा लिएको छ । सोमबार एक कार्यक्रमका बीच सुर्खेतका निजी क्षेत्रले जेहनदार, विपन्न तथा अपाङ्गता भएका बालबालिकाको शैक्षिक खर्च बेहोर्ने जिम्मा लिएको हो ।
जसमा शुभ होटलले अमरज्योति माध्यमिक विद्यालय, नेवारेमा कक्षा १२ मा अध्ययनरत पूर्णिमा रावत र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, इत्राममा कक्षा ९ मा अध्ययनरत मनबुजा थापाको तीन–तीन वर्षसम्मको शैक्षिक खर्च बेहोर्ने जिम्मा लिएको छ । होटेल स्टे भ्याली भ्युले अमरज्योति मावि, नेवारेकी कक्षा ९ की छात्रा सुष्मा चन्दको तीन वर्षसम्मको पढाइको जिम्मेवारी लिएको छ भने एस.एस. स्टेशनरी सुर्खेतले जनसेवा माध्यमिक विद्यालय, घुम्राकी कक्षा ९ की छात्रा शर्मिला शर्माको पढाई खर्च बेहोर्ने जिम्मा लिएको छ । त्यसैगरी केपी व्यवसाय प्रालिले शिव माध्यमिक विद्यालय, लाटीकोइलीकी कक्षा ८ की छात्रा सृष्टि सिंहको तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले अमरज्योति माध्यमिक विद्यालय, नेवारेकी कक्षा ९ की छात्रा स्मृति सुनारको तीन–तीन वर्षसम्म अध्ययन खर्च बेहोर्ने जिम्मा लिएका छन् ।
त्यसैगरी, डि नमस्ते होटेलले शिव माध्यमिक विद्यालय, लाटीकोइलीका कक्षा ८ का छात्र सचिन चौधरीको तीन वर्षसम्म शैक्षिक खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ । लाइन्स क्लब अफ सुर्खेत काँक्रेविहारले श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थी टीका विकको एक वर्ष र मालिका डेस्कटप सुर्खेतले जनसेवा माध्यमिक विद्यालय, घुस्राकी कक्षा ९ की छात्रा गोमा खत्रीको एक वर्षका लागि अध्ययन खर्च बेहोर्ने जिम्मा लिएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोग तथा समाज जागरण केन्द्र (स्याक नेपाल) को आयोजनामा बैंक, वित्तीय संस्था र निजी क्षेत्रसँगको दोस्रो चरणको सहकार्य कार्यक्रम अन्तर्गत यस्तो प्रतिबद्धता जनाइएको हो ।
जसमध्ये निजी क्षेत्र नाफामूलक गतिविधिमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने उद्देश्यसहित सुरु गरिएको अभियानमा सात जना बालबालिकाको तीन–तीन वर्षसम्म र दुई जनाको एक–एक वर्षसम्म अध्ययन खर्च बेहोर्ने निर्णय गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले तिमीहरूले पढाइमा निरन्तरता, अनुशासन र लगनशीलता देखाउनुपर्ने बताए । उनले दाताहरूले गरेको प्रतिबद्धता बीचमै नछोड्न आग्रह गर्दै जिम्मा लिएको अवधि पूरा नगरे बालबालिकाको भविष्य अन्योलमा पर्न सक्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार