२०८३ वैशाख ६ , आइतबार
निर्वाचन काउनडाउन

कसले तोड्ला सुर्खेतमा एमाले–काँग्रेसको दबदबा ?



 

सुर्खेत । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । यद्यपी निर्वाचनलाई लिएर थुप्रै मतभेदहरु उत्पन्न भएका छन् । सरकार र केही राजनीतिक दलहरु जसरी पनि निर्वाचन हुनुपर्ने अडानमा छन् तर मुख्य दुई दल नेपाली काँग्रेस र एमाले भने तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताउँछन् । प्रतिनिधिसभा पनुस्र्थापनाको पक्षमा रहेका काँग्रेस र एमाले बाहेकका दलहरु तोकिएकै मितिमा निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारी सिफारिस गरीसके पनि काँग्रेसको केही पंत्ति प्रतिनिधिसभा पनुस्र्थापनाको अडानमा छन् । यही कारण तोकिएको मितिमा निर्वाचन हुन्छ या हुँदैन यसै भन्न सकिने अवस्था छैन ।
यद्यपी दलहरुलाई भने भित्रभित्र निर्वाचनले छोइसकेको छ । सबै दलहरुले भित्रभित्रै निर्वाचनको तयारीलाई तीब्रता दिएका छन् । यही निर्वाचनको तयारी स्वरुप नेकपा एमालेले सुर्खेतका सबै स्थानीय तहमा शक्ति प्रर्दशन सकेर जिल्लास्तरिय कार्यक्रम गरेको छ । एमालेले केही समयअघि सुर्खेतको घण्टाघरमा भव्य कार्यक्रम गरेर निर्वाचनको तयारीमा जुटिसकेको संकेत गरेको थियो ।
त्यस्तै नेपाली काँग्रेस पनि भित्रभित्रै निर्वाचनको तयारीमा जुटेको छ । प्रतिनिधिसभाका लागि सबैभन्दा पहिले उम्मेद्वार सिफारिस गरेर काँग्रेसले निर्वाचनमा जुटेको प्रष्ट संकेत गरीकसेको हो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पनि निर्वाचनकै तयारीमा जुटिसकेको छ । गएको मंसिर २७ गते केन्द्रीय नेतृत्व बेलाएर नेकपाले निर्वाचनको तयारीमा जुटेको हो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुले पनि निर्वाचनको तयारीमा लागि सकेका छन् । केन्द्रीय तहका नेताहरुबाट प्रशिक्षण लिएको रास्वपा आक्रामक रुपमा चुनावको तयारीमा जुटिसकेको छ । नेताहरुलाई पार्टीमा भित्र्याउनेदेखि पुराना दलहरुको आलोचना गर्दै रास्वपा गाउँगाउँ पुगेको छ ।
रास्वपाले आगामी निर्वाचनमा पूराना दलहरुको दबदवा तोड्ने संकल्प सहित चुनावको तयारीमा जुटेको छ । यद्यपी सुर्खेतमा रास्वपा लगायतका दलहरुलाई काँग्रेस–एमालेको दबदबा तोड्ने त्यति सजिलो छैन । यहाँ लामो समयदेखि काँग्रेस–एमालेकै पकड छ ।


२०७९ को आम निर्वाचनमा पनि काँग्रेस–एमालेले आफ्नो पकडलाई कायमै राखेका थिए । प्रतिनिधिसभाका दुई वटै सीटमा काँग्रेसले बज्जी मारेको थियो । यद्यपी अघिल्लो निर्वाचनमा काँग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेका चुनावमा भिडेका थिए । जसका कारण सुर्खेत क्षेत्र नं. १ मा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा काँग्रेसका प्रभावशाली नेता हृदयराम थानीले सहजै विजय भएका थिए । खड्काले ४२ हजार ६ सय ७ मत प्राप्त गरेर विजयी हुँदा उनको प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार ध्रुवकुमार शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गरेका थिए ।
त्यस्तै थानीले ३४ हजार ६ सय २५ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेद्वार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए । काँग्रेस–माओवादीको गठबन्धनका कारण एमालेका उम्मेद्वारहरुले बिजय हात पार्न सकेनन् । अन्य उम्मेद्वारहरु प्रतिस्पर्धामा पुग्न सकेनन् ।
सोही समयमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै समयमा भएको थियो । जसका कारण काँग्रेससँग गठबन्धन गरेको माओवादीले प्रदेशसभातर्फ एक÷एक वटा सिट हात पारेको थियो । क्षेत्र नं. १ को कमा काँग्रेसबाट १८ हजार २ सय ८४ मत ल्याउँदै खड्गबहादुर पोखरेल र ख माओवादी केन्द्रका कृष्ण बहादुर जिसीले २१ हजार ७ सय ३४ मत ल्याउँदै विजयी भएका थिए । पोखरेलसँग भिडेका एमालेका ठम्मरबहादुर विष्टले १५ हजार २ सय ३७ र जिसीसँग भिडेका एमालेकै डण्डीप्रसाद शर्माले १७ हजार ५ सय ३८ मत ल्याएका थिए ।


क्षेत्र नं. २ को कमा भने काँग्रेस–माओवादीको गठबन्धनलाई एमालेका नेता यामलाल कँडेलले धुलो चटाइ दिएका थिए । कँडेलले १८ हजार ५ सय ६१ मत प्राप्त गरेर काँग्रेस माओवादीका साझा उम्मेद्वार काँग्रेसका कालीप्रसाद शाक्यलाई हराएका थिए । शाक्यले १८ हजार ४ सय मत प्राप्त गरे पनि विजयी हात पार्न सकेनन् ।
त्यस्तै क्षेत्र नं. २ को खमा भने १३ हजार ९ सय ९ मत ल्याएका माओवादीका विन्दमान विष्ट विजयी भएका थिए । एमालेका ताराकेशर गौतमले ९ हजार ३ सय ३० मत ल्याए पनि काँग्रेस–माओवादीका साझा उम्मेद्वार विष्टलाई हराउन सकेनन् । प्रदेश निर्वाचत क्षेत्रमा पनि एमाले र काँग्रेस–माओवादी गठबन्धन बाहेकका अन्य उम्मेद्वारहरु प्रतिस्पर्धा नजिक पुग्न सकेनन् ।
प्रतिनिधि र प्रदेश निर्वाचन क्षेत्र मात्र होइन । सुर्खेतका स्थानीय तहमा पनि एमाले–काँग्रेसले दबदवा रह्यो । स्थानीय तहको निर्वाचनमा पनि केही स्थानमा काँग्रेस–माओवादीको गठबन्धन थियो । काँग्रेस–एमाले र माओवादी एक्लाएक्लै चुनाव भिडेका स्थानीय तहमा पनि काँग्रेस–एमालेकै पकड रह्यो । काँग्रेस र माओवादी गठबन्धन गरेको पश्चिम चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादीका खड्क बहादुर विक र उपाध्यक्षमा नेपाली काँग्रेसका नरबहादुर बास्तोला निर्वाचित भए । विकले ५ हजार ४ सय ७६ र बास्तोलाले ४ हजार ७ सय ९१ मत ल्याउँदै विजयी भए । अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका एमालेका हरिप्रसाद अधिकारीले ३ हजार ४ सय १४ र उपाध्यक्षमा एमालेकै निर्माला मगरले ३ हजार ९ मत मात्रै ल्याए । अन्य उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्र्रिन सकेनन् ।


पञ्चपुरीमा पनि ५ हजलार ९ सय ९ मत ल्याउँदै नगरप्रमुखमा काँग्रेसका लालविर भण्डारी र उपाध्यक्षमा पनि काँग्रेसकै मुक्तिदेवी रेग्मीले ६ हजार ९४ मत ल्याउँदै विजयी भएकी थिइन् । त्यहाँ अध्यक्षमा एमालेका धनबहादुर थापाले ५ हजार १ सय १८, माओवादीका केशबहादुर शाहीले २ हजार ७ सय ८३ मत ल्याउँदा उपप्रमुखमाा एमालेका दुर्गाकुमारी जैसीले ५ हजार १ सय ६८ र एकीकृत समाजवादीकी कविता सोडारीले १ हजार ७ सय ५२ मत ल्याएर प्रतिस्पर्धामा रहिन् ।
बराहताल गाउँपालिकामा पनि अध्यक्षमा ४ हजार २ सय ७३ मत ल्याउँदै काँग्रेसका भिमबहादुर भण्डारी र उपाध्यक्षमा पनि ४ हजार ३ सय १ मत ल्याउँदै काँग्रेसकै लक्ष्मी पुनमगर विजयी भइन् । बहालतालमा पनि अध्यक्षमा एमालेका घनश्यमा पाण्डेले ३ हजार ५ सय ५५ र उपाध्यक्षमा पनि एमालेकै दुर्गा कुमारी विष्टले ३ हजार ५ सय ९९ मत ल्याउँदै प्रतिस्पर्धामा उत्र्रिइन् । बराहतालमा माओवादी लगायतका दलका उम्मेद्वारहरु प्रतिस्पर्धा निजक पुग्न सकेनन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रमुखमा १६ हजार ३८ मत सहित एमालेका मोहनमाया भण्डारी र उपप्रमुखमा पनि २० हजार ३ सय ६४ मत ल्याउँदै एमालेका निलकण्ठ खनाल विजयी भएका थिए । काँग्रेस र माओवादीले गठबन्धन गर्दा पनि प्रमुखमा काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४ सय ८४ र उपप्रमुखमा माओवादीका शान्ति ढकालले ११ हजार ५ सय ३३ मत मात्रै ल्याए ।
भेरीगंगा नगरपालिकाको प्रमुखमा १० हजार २२ मतसहित यज्ञप्रसाद ढकाल र उपप्रमुखमा ९ हजार ६ सय १४ मत ल्याउँदै एमालेका धनसरा बोहरा निर्वाचित भएका थिए । भेरीगंगामा पनि काँग्रेस–माओवादीको गठबन्धन थियो । जहाँ प्रमुखमा काँग्रेसका राम बहादुर सिंहले ९ हजार ७ सय ९७ र उपप्रमुखमा माओवादीका नन्दबहादुर कार्कीले ८ हजार ९ सय १३ मत मात्रै ल्याए ।


गुर्भाकोटको प्रमुख ११ हजार ९ सय ७८ मतसहित काँग्रेसका हस्त पुन र उपप्रमुखमा ११ हजार ७ सय ४३ मत ल्याउँदै काँग्रेसका मैना विक विजयी भएका थिए । गुर्भाकोटमा एमाले र माओवादी पनि एक्लाएक्लै निर्वाचन लडेका थिए । तर एमाले मात्रै प्रतिस्पर्धा नजिक पुगेको थियो । जसमा प्रमुखमा एमालेका तिलक बहादुर खत्रीले १० हजार १ सय ७८ र उपप्रमुखमा एमालेकै सुशिला कुमारी विश्वकर्माले १० हजार २ सय ९९ मत ल्याउन सफल भएका थिए ।
लेकवेशी नगरपालिकामा पनि मिश्रित नजिता आएको थियो । जहा नगरप्रमुखमा काँग्रेसका उमेर कुमार पौडेलले ६ हजार ६ सय ३९ र उपप्रमुखमा एमालेका विमला खड्लुकले ६ हजार १ सय ९ मत ल्याउँदै विजयी भएकी थिइन् । लेकवेशीको प्रमुखमा भिडेका एमालेका देव बहादुर रानाले ६ हजार ३ सय ७४ र उपप्रमुखमा एकीकृत समाजवादीका देउकली थापामगरले ५ हजार ४ सय ४० मत ल्याएर प्रतिस्पर्धामा उत्र्रिएका थिए ।
सिम्ता गाउँपालिकाको प्रमुख र उपप्रुमख भने एमालेको पोल्टामा परेको थियो । जहाँ अध्यक्षमा एमालेका ऐन बहादुर चन्दले ६ हजार १ सय ७० र उपप्रमुखमा पनि एमालेकै गोमा शर्माले ६ हजार ९१ मत ल्याएर विजयी भएका थिए । सिम्तामा काँग्रेस र माओवादीको गठबन्धन थियो । जहाँ अध्इषमा एमालेका विरेन्द्र रावतले ५ हजार ८ सय ५२ र उपाध्यक्षमा माओवादीका चित्र बहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याएका थिए ।
चिङ्गाड गाउँपालिकामा पनि एमालेले नै बाज्जी मागरेको थियो । चिङ्गाडको अध्यक्षमा एमालेका बोधबिक्रम जिसीले ३ हजार ५ सय ९१ र उपाध्यक्षमा एमालेकै मिना कुमारी रोकायाले ३ हजार ५ सय ८१ मत ल्याउँदै विजयी भएका थिए । चिङ्गाडको अध्यक्षमा काँग्रेसका उम्मेद्वार डोरप्रसाद शर्माले ३ हजार ५ सय ३० मत र उपाध्यक्षमा पनि काँग्रेसकै मनमाया आचार्यले ३ हजार ४ सय ६९ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा ९ स्थानीय तह रहेको सुर्खेतमा काँग्रेस–एमालेले ४÷४ र माओवादीले एउटा स्थानीय तहको प्रमुख हात पारेको छ ।
तीनै तहको नतिजा हेर्दा आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले–काँग्रेसको दबदवा तोड्न अन्य दलहरुलाई ठूलै बल आवश्यक पर्ने देखिन्छ । यद्यपी बदलिदो राजीतिक परिवेशका कारण रास्वपा लागतका दलहरुले हौसिएका छन् । यसपालिको प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेतमा काँग्रेस–एमालेको दबदवा नयाँ दलहरुले दोड्छन् कि तोड्दैनन् भन्ने थाहा पाउन भने निर्वाचनको मत परिणाम कुर्नै पर्ने हुन्छ ।

प्रकाशित मिति : २०८२ पुस ८ गते मंगलबार