
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएकी एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा अमानवीय यातना दिएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–१२ की प्रेमकला रोकायलाई ‘बोक्सी’ भन्दै दुर्व्यवहार गरेको उजुरीका आधारमा चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा जुम्ला जिल्लाको तिला गाउँपालिका–२ स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–१२ मा बसोबास गर्दै आएका २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार पीडित प्रेमकला रोकायले आफूमाथि अन्याय, कुटपिट र मानसिक तथा शारीरिक हिंसा भएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी हुन्।
उजुरीमा उल्लेख भएअनुसार आरोपीहरूले पीडितलाई ‘बोक्सी’को आरोप लगाउँदै गालीगलौज गरेका, आफैँ धामी–झाँक्री बनेर चामलले हानेका तथा तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेर यातना दिएको आरोप छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि आइतबार जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्