२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा अपाङ्ग खेलकुद कार्यक्रम हुने



सुर्खेत । सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम आयोजना हुने भएको छ। पारा फाउन्डेसन सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा माघ ९ गतेदेखि १४ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिने भएको हो।
शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पारा फाउन्डेसन सुर्खेतका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने, समावेशी खेलकुदको प्रवर्द्धन गर्ने र अपाङ्ग खेलाडीहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
कार्यक्रममा देशभरका सातै प्रदेशका टोलीसहित दुई विभागीय टोलीको सहभागिता रहनेछ। आयोजकका अनुसार देशभरबाट दुई सयभन्दा बढी ह्विलचेयर खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन्। चार दिनसम्म सञ्चालन हुने कार्यक्रममा ह्विलचेयर बास्केटबल महिला तथा पुरुष, ह्विलचेयर क्रिकेट टी–२० ढाँचामा चार टोली, ह्विलचेयर दौड ९५ किलोमिटर० र ह्विलचेयर डान्सलगायतका प्रतियोगिता समावेश छन्।
ह्विलचेयर बास्केटबल कर्णाली प्रदेश रंगशालामा, क्रिकेट प्रतियोगिता कालिञ्चोक क्रिकेट मैदानमा र ह्विलचेयर दौड वीरेन्द्रनगरको विमानस्थलदेखि बाङ्गेसिमलसम्म आयोजना गरिने जनाइएको छ। अध्यक्ष शाहीले पारा राष्ट्रिय खेलकुद कर्णालीमै आयोजना हुनुपर्छ भन्ने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको बताए। खेलकुदमार्फत जनचेतना फैलाउने, अपाङ्गता भएका व्यक्तिहरू पनि सक्षम र आत्मनिर्भर छन् भन्ने सन्देश समाजमा प्रवाह गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति : २०८२ पुस ५ गते शनिबार