
सुर्खेत । एड्भोकेसी फोरम नेपालले वीरेन्द्रनगरमा सञ्चालन गरेको समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तिकरण परियोजना (इम्पावर) को सामाजिक परीक्षण सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिकामा सम्पन्न सामाजिक परीक्षणमा सरोकारवालाहरूले परियोजनाले द्वन्द्व तथा हिंसा पीडितको न्याय र मानव अधिकार संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताएका छन्।
परियोजना संयोजक राजेन्द्र भारतीले सन २०२५ देखि वीरेन्द्रनगरमा परियोजना सुरु भएको जानकारी दिँदै द्वन्द्व प्रभावित महिला, मानव अधिकार उल्लंघनमा परेका महिला–पुरुष तथा समुदायका व्यक्तिलाई कानुनी उपचारमा सहयोग गर्नु मुख्य उद्देश्य रहेको बताए। परियोजना सन २०२७ डिसेम्बरसम्म सञ्चालन हुने छ।
परियोजनाअन्तर्गत अन्तरक्रिया, तालिम, मानव अधिकार दिवस लगायतका गतिविधि गरिएको जनाइएको छ। सहभागीहरूले मानव अधिकार रक्षकलाई सशक्त बनाउने काम सकारात्मक भएको बताए। साथै द्वन्द्व पीडितका मुद्दामा थप केन्द्रित हुनुपर्ने, युवालाई प्रोत्साहन गर्नुपर्ने सुझाव पनि दिए।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक प्रमुख टिकाराम शर्माले मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाले नगरपालिकाले आगामी दिनमा कानुनी सहायताका विषयमा एड्भोकेसी फोरमसँग समन्वय गर्ने बताए।
कार्यक्रममा वडा अध्यक्ष, शाखा प्रमुख तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्