
सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशमार्फत सञ्चालन भइरहेको ‘शसक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा हालसम्म भएका गतिविधिहरूको समीक्षा तथा रिभ्यु बैठक सम्पन्न भएको छ।
महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विकास साझेदार संघसंस्था तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकको सुरुवातमा अध्यक्ष शाहीले स्वागत मन्तव्य राख्दै कार्यक्रमका उद्देश्य र एजेन्डाबारे जानकारी गराउनुभयो। उहाँले महिला सशक्तीकरण, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा कार्यक्रमले सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महिलाको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रमका प्रदेश संयोजक लोकप्रसाद लामिछानेले हालसम्म कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले स्थानीय तह, निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले कार्यक्रम थप प्रभावकारी बन्दै गएको बताउनुभयो।
यस्तै महासंघका सहायक निर्देशक हरि पौडेलले महिलालाई लक्षित हेल्पडेस्क सेवा, गुनासो सुनुवाइ संयन्त्र, केयर सेन्टर स्थापना तथा रोजगारीसँग जोडिएको रेफरल प्रणालीबारे प्रस्तुति राख्नुभयो। उहाँले यी संयन्त्रमार्फत महिलाहरूलाई आवश्यक परामर्श, सीप विकास र रोजगारीका अवसरमा पहुँच दिलाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।
बैठकमा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत कृष्ण रोकाया तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि सृजना ढकालले आ–आफ्नो धारणा राख्दै कार्यक्रमको प्रभावकारिता बढाउन सुझाव प्रस्तुत गर्नुभएको थियो।
बैठकको समापन गर्दै महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष हर्ष विक्रम खड्काले सबै सरोकारवालाबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्