२०८३ वैशाख ६ , आइतबार
एमाले ११ औँ महाधिवेशन

कर्णालीमा ओली समूहको दबदबा, कसले जिते-कसले हारे ?



सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा अध्यक्ष केपी शर्मा ओली समूहले सबै पदमा जित हात पारेको छ। तर खुला केन्द्रीय सदस्यतर्फ भने ओली प्यानलबाट उम्मेदवार बनेका दुई जना पराजित भएका छन्।

तीन सय एक सदस्यीय केन्द्रीय कमिटी चयन हुँदा दैलेखका लक्ष्मीप्रसाद पोखरेल र धर्मराज रेग्मी खुला केन्द्रीय सदस्यमा पराजित भएका हुन्। पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्ज रहेका पोखरेलले ८४३ मत मात्र पाए र खुला ७२ जनाको कोटामा अटाउन सकेनन्। खुला केन्द्रीय सदस्यमा विजयी हुन कम्तीमा १०२६ मत आवश्यक थियो।

यस्तै, ओली समूहबाटै उम्मेदवार बनेका दैलेखका धर्मराज रेग्मीले ९९२ मत प्राप्त गरे। पूर्व माओवादी केन्द्रबाट एमाले आएका रेग्मी केन्द्रीय सदस्य तथा कानून विभाग प्रमुखको जिम्मेवारीमा थिए।

कर्णाली प्रदेशबाट ओली समूहका २६ जना नेताले पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तीमध्ये अधिकांश उम्मेदवार विजयी भएका छन्।

मत परिणामअनुसार सचिव पदमा सुर्खेतका यामलाल कँडेल ११८५ मतसहित विजयी भएका छन्।

कर्णाली प्रदेश भूगोल खुला केन्द्रीय सदस्यमा मुगुका जितबहादुर मल्ल, दैलेखका विष्णु रिजाल, सुर्खेतका नवराज रावत, हुम्लाका दल फडेरा र जाजरकोटका डम्बरबहादुर सिंह निर्वाचित भएका छन्।

कर्णालीमा ओली समूहले सबै पदमा जित हासिल गर्दा ईश्वर पोखरेल समूह भने कुनै पनि पदमा विजयी हुन सकेन। पोखरेल समूहबाट भूगोलतर्फ उम्मेदवारी दिएका लालबहादुर महतारा, कुर्मराज शाही र ठम्मरबहादुर विष्ट पराजित भएका छन्।

प्रदेश भूगोल युवा खुलातर्फ दैलेखका रुद्रबहादुर शाही विजयी भएका छन् भने महिला भूगोलतर्फ सुर्खेतकी मोहनमाया ढकाल, कालिकोटकी इन्दिराकुमारी पन्थी र दैलेखकी मिनासिंह रखाल निर्वाचित भएकी छन्।

खुला केन्द्रीय सदस्यतर्फ ओली समूहबाट जाजरकोटका निरज आचार्य, हुम्लाका गोरखबहादुर बोगटी र दलबहादुर रावल, कालिकोटका मिनबहादुर शाही तथा दैलेखका राजबहादुर बुढा निर्वाचित भएका छन्।

खुला युवा केन्द्रीय सदस्यमा दैलेखका सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। महिला खुलातर्फ दैलेखकी सूर्यकुमारी श्रेष्ठ र सुर्खेतकी पद्मा खड्का विजयी भएका छन्।

यस्तै, पिछडिएको क्षेत्रतर्फ कालिकोटका नगेन्द्र शाही र पिछडिएको क्षेत्र महिला तर्फ डोल्पाकी पद्मीक्वारी बोहोरा निर्विरोध निर्वाचित भएकी छन्। आदिवासी जनजातितर्फ जाजरकोटका चन्द्रप्रकाश घर्ति र सल्यानका गोविन्द पुन, दलित पुरुषतर्फ मुगुका दानसिंह परियार तथा दलित महिलातर्फ दैलेखकी पार्वती विशुन्के विजयी भएका छन्।

केन्द्रीय लेखा आयोग सदस्यमा दैलेखकी नन्दाकुमारी आचार्य निर्वाचित भएकी छन्।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार