
सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लामो वक्तव्य सार्वजनिक गर्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।
कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले ८७५ मत प्राप्त गरे पनि पराजित भएका थिए। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउनेमा विश्वस्त रहेका उनी अन्तिम समयमा आधिकारिक सूचीमा नपरेपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए।
सुर्खेत निवासी विष्ट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदा कर्णाली प्रदेश सभा सदस्य पद त्यागेर एमालेमा प्रवेश गरेका नेता हुन्। उनले २०७४ सालमा सुर्खेत १ (१) बाट माओवादी केन्द्रको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद पद त्याग्नु परेको भए पनि त्यसको राजनीतिक मूल्यांकन एमाले नेतृत्वले नगरेको गुनासो गरेका छन्।
राजीनामा पत्रमा विष्टले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा आफूलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्। मंसिर २४ गते भएको ‘वन टु वन’ भेटमा अध्यक्ष ओलीले आफूलाई हप्काएको र सम्मानित कार्यकर्ताजस्तो होइन, क्षमादान माग्न आएको व्यक्तिजस्तो व्यवहार गरिएको अनुभूति भएको उनले उल्लेख गरेका छन्।
विष्टले एमालेभित्र पूर्वमाओवादी तथा अन्य दलबाट आएका नेताकार्यकर्तालाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गर्ने प्रवृत्ति रहेको आरोप पनि लगाएका छन्। पार्टीभित्र वंशज र अंगीकृत भन्दै वर्गीकरण गरिएको, संस्थागत निर्णयभन्दा बाहिरबाट उम्मेदवार सूची तयार पारिएको र विभिन्न उपाय प्रयोग गरी आफूजस्ता नेताहरूलाई पराजित गराइएको उनको दाबी छ।
जननेता मदन भण्डारीको विचारलाई सीमित गरिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति समेत अपमानजनक व्यवहार भएको उल्लेख गर्दै विष्टले एमाले नेतृत्व आदर्श र मूल्य–मान्यताबाट विचलित भएको निष्कर्षसहित पार्टी परित्यागको निर्णय गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्