
सुर्खेत । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई कर्णाली प्रदेशसभाको संसदीय दलको नेता छनौटमा सकस परेको छ । पार्टी एकीकरणपछि नेकपाले संसदीय दलको नेता र प्रमुख सचेतक छान्न सकेको छैन । दलको नेताको लागि आँकाक्षीहरु धेरै भएपछि नेकपालाई समस्या परेको छ । दलको नेता छनौटलाई सजह बनाउन आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई साथमै राखेर दलको नेता छनौट गर्न प्रयास गरिएको थियो । तर उक्त बैठकमा प्रचण्ड र माधव नेपालले सहमतिकै आधारमा दलको नेता छान्न सुझाव दिएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार प्रचण्डले दललाई प्रभावशाली बनाउन सक्ने क्षमता भएको र सर्वमान्य हुने प्रदेशसभा सदस्यलाई दलको नेता बनाउन सुझाव दिएका एक प्रदेशसभा सदस्यले जानकारी दिए । ‘दलको नेता छान्नकै लागि बैठक बसेको होइन, अभिभावकहरुको पनि सल्लाह लिंऔँ भनेर बैठक बसेका हौँ’ ती प्रदेश सभा सदस्यले भने, ‘प्रचण्ड र माधवले फलानो व्यक्तिलाई दलको नेता बनाउनोस् भन्नु भएन तर छलफल र सहमतिका आधारमा नेता छनौट गर्नुहोस् भन्नु भएको छ ।’
नेकपामा संसदीय दलको नेता बन्न कृष्णबहादुर जिसी, विन्दमान विष्ट र महेन्द्रबहादुर केसीलाई दाबी गरेका छन् । नेकपाले विष्ट र जिसीमध्ये एकलाई दलको नेता बनाउने तयारी गरेपनि रुकुमपश्चिमको शाख धान्नका लागि कतिपयले केसीलाई दलको नेता बनाउनुपर्ने अडानमा छन् । त्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी छोडेपनि रुकुमपश्चिमले नेतृत्व गर्न सक्छ भन्ने पुष्टि गर्न केसीलाई दलको नेता बनाउनुपर्ने कतिपयको तर्क छ ।
तत्कालीन माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी, गोपाल शर्मा, गोविन्द रोका लगायतका नेताहरुले केसीलाई दलको नेता बनाउनुपर्ने अडानमा छन् । तर सिनियर नेताका हिसावले विष्टलाई दलको नेता बनाएर अगाडि बढ्नुपर्ने बताउँछन् । विष्ट अघिल्लो कार्यकालमा पनि प्रदेशसभा सदस्य भएको र आर्थिक मामिला तथा योजना मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको समेत नेतृत्व गरिसकेका कारण दलको नेता उनैलाई नै बनाउनुपर्ने कतिपयले भनाइ छ । कतिपयले भने यसअघि पनि जिसीले प्रमुख सचेतक भएर कुसलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेको र दलको नेता रित्तता हुँदा पनि सबै दलसँग समन्वय गर्न काम गर्दै आएका कारण जिसीलाई नै दलको नेताको रुपमा अगाडि सार्नुपर्ने बताएका छन् ।
कतिपयले भने साविक कर्णालीले हालसम्म दलको नेता पाउन नसकेका कारण यसपाली शाही वा रावलमध्ये एकलाई दलको नेताको रुपमा अगाडि सार्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार
प्रतिक्रिया दिनुहोस्