सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्व पाएका कुलमान घिसिङलाई जुन थालमा खायो उही थालमा छेद पार्ने काम गरेको टिप्पनी गरेको छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको पार्टीको एकता सन्देशसभालाई सम्बोधन गर्दै कुलमानलाई माओवादीले नै दुई–दुई पटक नेपाल विद्युत प्राधिकरणको निर्देशक बनाएको तर अहिले छुट्टै पार्टी खोलेर आफैले खाएको थालमा छेद हानेको बताएका हुन् ।
जेनजी आन्दोलनअघि माओवादी निकट मानिने कुलमानले अहिले आफ्नै संरक्षणमा उज्यालो नेपाल पार्टी खोलेका छन् । माओवादी समर्थक भएकै कारण लाभको पदमा पुग्न सफल भएको तर अहिले आएर पार्टीलाई घाटा पु¥याउने काम गरेको भन्दै प्रचण्डले कुलमानप्रति यस्तो टिप्पनी गरेको हुन् ।
‘कुलमानले गुन बिर्से, जुन थालमा खायो त्यसैमा छेद गरिरहेका छन्,’ उनले भने, ‘कुलमानको बुद्धि फिरोस ।’ उनले प्रधानमन्त्रीको हैसियतले आफूले टिपेर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको दावी गरे । ‘प्रचण्डले टिपेर ल्याएको हो कुरा बिर्से,’ उनले भने, ‘अहिले लाजको मर्नु ! यो भन्दाबढी भन्दैन् ।’

यस्तै प्रचण्डले सरकार र जेनजी पुस्ताबीच भएको संझौता आफ्नो पार्टीको नीतिसँग मेलखाने बताएका छन् । उनले १३२ जना जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सहमतिप्रति अन्य राजनीतिक दलहरु आतंकित भएको बताउँदै आफ्नो पार्टीले त्यसलाई स्वागत गरेको बताए । ‘१३२ जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सममति नेपाली कम्युनिष्ट पार्टीसँग मिल्दोजुल्दो छ,’ प्रचण्डले भने, ‘अरु पार्टीहरु यो संझौताबाट आतंकित भएका छन्, हामी स्वागत गछौं ।’ प्रचण्डले जेनजी आन्दोलनले आफूहरुले सच्चिने कि सक्किने भनेर विकल्प दिएको बताउँदै आफूहरु सच्चिएर अघाडि बढेको बताए । ‘जेनजी युवाहरुले भदौ २३ र २४ गते गरेको आन्दोलनले पार्टी र नेताहरुलाई सच्चिने या सक्किने भनेर चुनौति दियो,’ उनले भने, ‘हामीले जेनजीहरुलाई सच्चिनका लागि मौका दिएकोमा बधाई दियौं ।’ उनले हिजो आफूहरुलाई गाली गर्ने जेनजी पुस्ता नेकपा निर्माण भएसँगै बधाई दिन थालेको बताए । उनले जेनजीहरुले नेकपालाई आफ्नो अभिभावक मानेको दावी पनि गरे ।
यस्तै उनले विगतमा गरिएका कमी कमजोरीहरु अव नदोहो¥याउने बाचासमेत गर्न भ्याए । उनले विगतमा राम्रो काम गर्दागर्दै केही कमीकमजोरीहरु भएकोले आगामी दिनमा ती कमजोरीहरु नदोहोरिने उल्लेख गरे ।
यी सभाहरु केवल प्रचार गर्ने मात्र नभइ विगतमा भएका कमीकमजोरीहरुलाई आत्मसमीक्षा गर्दै विगतको गल्ती नदोहो¥याउने कार्यक्रम भएको उनको भनाइ छ । पार्टी एक बनाउनु अघि धेरै संघर्ष र चुनौतीहरु भोग्नुपरेको स्मरण गर्दै उनले देशको समग्र विकास, समृद्धिको यात्रा, गणतन्त्रको रक्षा, संविधान जोगाउने कदममा पार्टी अग्रपंक्तिमा उभिने उल्लेख गरे । प्रचण्डले कर्णाली इतिहास र सभ्यताको धरोहर भएपछि विगतका शासकहरुको विभेदको शिकार हुन पुगेको बताए । कर्णालीको जडीबुटी, पर्यटन, जलविद्युतले देशमै क्रान्तिकारी विकास गर्न सकिने भएकोले यसको स्रोत साधनप्रति पार्टीले योजना बनाउने उनले उल्लेख गरे । यस्तै माओवादी द्वन्द्वकालमा पनि कर्णालीले विरताको प्रतीक कायम गर्न सफल भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्