२०८३ वैशाख ६ , आइतबार
नेकपाको एकता सन्देशसभा

नेकपाले मात्रै संविधान र गणतन्त्रकाे रक्षा गर्छ : माधव नेपाल



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अरु पार्टीले संविधान र गणतन्त्रको रक्षा गर्न नसक्ने दावी गर्नुभयो ।
शनिबार नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरिय एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो दावी गर्नु भएको हो । उहाँले नेपाली कम्युनिष्ट पार्टीले देशको समग्र विकास गर्न, संविधान र गणतन्त्रको रक्षा आफ्नो पार्टीले मात्र रक्षा गर्न सक्ने भन्दै त्यसैका लागि एक भएको जनाउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टीसँग देश बनाउने योजनासमेत रहेको दावी गर्नुभयो । अहिलेको आवश्यकता संविधान जोगाउनुपर्ने, गणतन्त्रको रक्षा गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र कुशासन हटाउनुपर्ने प्रमुख योजना भएको भन्दै उहाँले देशको विकास गर्ने अभियान नेपाली कम्युनिष्ट पार्टीले सुरु गरेको बताउनुभयो ।
उहाँले विगतमा कर्णाली राजमार्ग, हुलाकी राजमार्ग, नयाँ सहर योजनाको सुरुवात, विद्युत विकास, जनता आवास कार्यक्रम, युवा परिषद, स्वरोजगार कोष, अन्तरजातीय विवाहलाई प्रोत्साहनजस्ता उपलव्धीहरु कम्युनिष्ट पार्टीको सरकारले गरेको जानकारी दिनुभयो । पछाडि परेको कर्णालीको विकास गर्न पनि आफ्नो पार्टी सक्षम भएको उहाँको भनाइ छ । साथै पछिल्लो समय जेनजी पुस्ताहरु पनि आफ्नो पार्टीको पक्षमा आइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार