
सुर्खेत। वीरेन्द्रनगर-७ स्थित डिभि निकेतन विद्यालयमा खेल प्रदर्शन गरिएको छ । स्पाइन इञ्जुरी संघ सुर्खेतको आयोजना र युथ फर चेन्जको सहकार्यमा सुर्खेतमा मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल भएको हा।सेभ द चिल्ड्रेन नेपालको सिफ्ट अभियानको सहयोगमा स्पाइनल इञ्जुरी संघले खेल प्रदर्शन गरेके हो । ।
स्पाइनल इञ्जुरी अर्थात् मेरुदण्डमा चोट भई अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले स्थापित “स्पाइन इञ्जुरी संघ”ले वीरेन्द्रनगरमा केहि समयदेखि “पांग्राको उडान” अभियान सञ्चालन गरिरहेको छ। सुन्तला रंगका एक जोडी पखेटा भएको निलो ह्विलचियर यस अभियानको मस्कटको रुपमा रहेको छ।

“यो मस्कटले हाम्रो मनोभावनालाई प्रतिविम्बित गर्दछ।“ मस्कटबारे संघका सचिव धर्म रावल भन्छन। “हामीहरु मेरुदण्डको चोटको कारण हिंड्न नसकेपनि हामी ह्विलचियरमार्फत उड्न चाहन्छौं, ह्विलचियर बास्केटबल मार्फत हामीले यो प्रदर्शन पनि गरिरहेका छौ।मस्टकको पखेटाले हाम्रो यो उडानलाई प्रतिबिम्बित गरेको छ।“
उक्त कार्यक्रममा खेलपश्चात संस्थाका अध्यक्ष मदन कार्की र कोषाध्यक्ष विष्णुकुमारी शाहीले विद्यार्थीहरुमाझ आफ्नो जीवनकथा प्रस्तुत गर्दै खेलको माध्यमबाट आफूहरुमा आएको सकारात्मक परिवर्तनको बारेमा चर्चा गरे। उनीहरुले विद्यार्थीहरुका विविध प्रश्नहरुको जवाफ दिंदै खेलमार्फत आफूहरुले समाजमा सकारात्मक सन्देश दिइएको बताए।
मैत्रीपूर्णा खेलपश्चात सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक उषा जोशीबाट सेभ द चिल्ड्रेन र सिफ्ट अभियानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान भयो। विश्व मानबअधिकार दिवसको अवसरमा विद्यार्थीहरुलाई शुभकामना दिंदै जोशीले अपाङ्गता भएका नागरिकको हक पनि मानवअधिकार हो भन्ने स्थापीत गर्नुपर्ने बताइन।

कार्यक्रममा लेखक तथा बालरोग विशेषज्ञ डां नवराज केसीले मन्तव्य राख्दै ह्विलचियर बास्केटबल खेलाडिहरुले जस्तै समस्याहरुको सकारात्मक प्रयोग गर्नुपर्ने बताए। उनले आजको खेल हेर्दा आ पनि शारिरिक कसरत गर्न प्रेरित भएको बताउँदै बालबालिकाहरुलाई खेलकुद र मानसिक स्बास्थ्यको अन्तरसम्बन्धबारे जानकारी प्रदान गरे।
कार्यक्रममा बोल्दै डिभी निकेतन स्कुलका उप-प्राचार्य प्रेम भण्डारीले आजको खेलमार्फत विद्यार्थीहरुलाई सकारात्मक उर्जा सञ्चार गरेकोमा आयोजकलाई धन्यवाद दिए। उहाँले विविध समस्याहरुको बाबजुद पनि अपाङ्गता भएका खेलाडीहरुले खेल प्रदर्शन गर्नाले बालबालिकाहरुमा ‘म सक्छु” भन्ने भावना विकसित भएकोमा खुसी व्यक्त गरे।
“अभियानको अन्तिम चरणमा आइपुग्दा हामी हाम्रो उद्देश्यमा सफल भयौं भन्ने अनुभव भइरहेको छ।“ संस्थाका अध्यक्ष मदन कार्कीले बताउनुभयो। उहाँका अनुसार करिव पाँच महिनादेखी विरेन्द्रनगरका विभिन्न विद्यालयहरुमा मैत्रीपूर्ण ह्विलचियर बास्केटबल खेल प्रदर्शन र विद्यार्थीहरुसँग अन्तर्क्रिया सञ्चालन गरी सयौं विद्यार्थीहरुसँग जोडिंदा अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजले हेर्ने दृष्टिकोणमा केहि न केहि परिवर्तन भएको छ।
प्रतिक्रिया दिनुहोस्