
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षण सम्बन्धी विधेयक पास गराउन सक्रिय रुपमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ। ‘मानव अधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने नारासहित मनाइएको ७७औँ मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, इन्सेक लगायत संस्थाले सुर्खेतमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री भण्डारीले वर्तमान समाजमा स्वार्थी सोचका कारण मानव अधिकार संकटमा परेको बताउनुभयो। उहाँका अनुसार परम्परागत मूल्य हराउँदै जाँदा अभिभावक, बालबालिका र वृद्धवृद्धा सबै जोखिममा परिरहेका छन्।

पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य कृष्णबहादुर जिसीले पनि मानव अधिकार रक्षक विधेयक अघि बढाउन थप पहल गर्ने बताउनुभयो। उहाँले नागरिकले अधिकारसँगै कर्तव्यप्रति पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो। प्रदेश सभाको विधायन समिति सभापति कल्याणी खड्काका अनुसार आधुनिकता र प्रविधिको कारण मानव अधिकार उल्लङ्घनका स्वरूप फेरिँदै गएको छ। त्यस्तै, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले विद्यालय तहदेखि नै मानव अधिकार शिक्षा आवश्यक रहेको बताए। वीरेन्द्रनगरका उपप्रमुख निलकण्ठ खनालले संविधानको रक्षा भए मात्र मानव अधिकार सुनिश्चित हुने बताए। मानव अधिकार आयोगका उपसचिव मञ्जु खतिवडाले गैरराज्य पक्षबाट हुने उल्लङ्घन बढेकाले त्यसलाई रोक्न ध्यान दिनुपर्ने बताइन्।
प्रदेश प्रहरी कार्यालयका एसपी रामप्रसाद घर्तीले प्रहरी संगठन सधैं मानव अधिकार पालनामा प्रतिवद्ध रहेको बताए। इन्सेकका संयोजक नारायण सुवेदी र मानव अधिकार रक्षक सञ्जाल कर्णालीका संयोजक पिताम्बर ढकालले मानव अधिकार कार्यकर्तामाथि नै जोखिम बढेकाले विधेयकलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने माग गरे। कार्यक्रममा सरोकारवाला संस्थाका प्रतिनिधिहरूले मानव अधिकारको संरक्षण, संवर्धन र सहभागिताका विषयमा राज्यका निकायहरूले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्