२०८३ वैशाख ६ , आइतबार

कर्णालीले बजेट खर्च क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्न क्षमता बढाउनै पर्ने बताएका छन्। उनले कर्णालीले पाउने बजेट समयमै र प्रभावकारी ढङ्गले खर्च गर्न नसक्नु प्रदेश विकासको मुख्य अवरोध बनेको उल्लेख गरे। आज वीरेन्द्रनगरमा कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले व्यक्तिगत इच्छाशक्ति मात्र भएर विकास सम्भव नहुने स्पष्ट पारे। “यहाँ सहयात्रा गर्ने सबैको इच्छा, सहयोग र सामूहिक प्रयास आवश्यक छ,” उनले भने । अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर हुनुमा पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैली प्रमुख कारण हुन्।

पुरानै संरचना र प्रशासनिक मानसिकताले विकासको गति रोकिएको बताउँदै उनले सङ्घीयता लागू भए पनि जनशक्ति व्यवस्थापन र अधिकार प्रदान गर्ने प्रणाली केन्द्रीकृत नै रहेको टिप्पणी गरे। “हामीसँग आवश्यक तहको जनशक्ति छैन, आएका जनशक्तिलाई पनि पूर्ण अधिकार दिइएको छैन,” कँडेलले गुनासो गरे। कर्मचारीतन्त्रको कार्यशैलीप्रति तीखा शब्दमा असन्तुष्टि जनाउँदै उनले जनसेवाको भावना भन्दा समय काट्ने, जोखिम नमोल्ने र निर्णय पन्छाउने प्रवृत्ति हाबी भएको बताए। “यहाँ ६ महिना वा दुई वर्ष बसेर आफ्नो कार्यक्षमता देखाएर सेवा गर्नुपर्ने मानसिकता देखिन्न,” कँडेलले भने। कानुनी जटिलता विकासका काममा अर्को ठूलो अवरोध रहेको उनले बताए। संविधान बनेको धेरै वर्ष बितिसक्दा पनि नयाँ कानुन नबनिएको र पुराना ऐनकै भरमा चल्नुपर्ने बाध्यताले नयाँ संरचना अनुसार काम गर्न कठिनाइ भएको उनको भनाइ थियो। “प्राप्त बजेट नै खर्च गर्न नसक्ने अवस्थामा थप स्रोत माग्नुको औचित्य हुँदैन,” भन्दै कँडेलले खर्च क्षमता बढाउनेतर्फ प्रदेशले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। तमाम चुनौतीका बीच पनि प्रदेश सरकार नतिजामुखी बन्न कटिबद्ध रहेको उल्लेख गर्दै विकासलाई गति दिन सबै पक्षको सहकार्य अपरिहार्य रहेको मुख्यमन्त्री कँडेलको भनाई थियो ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार