
सुर्खेत । लामो समयदेखि जीर्ण अवस्थामा रहेको बुलबुले ताल पुरानै शैलीमा पुननिर्माण गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बुलबुलेको मुख्य ताललाई भत्काएर नयाँ संरचना समावेश गरी पुरानै शैलीमा पुनर्निर्माण गरेको हो । नगरपालिकाले २३ लाख ६० हजार रुपैयाँ खर्च गरेर तालको पुनर्निर्माण गरेको हो । ताल निर्माणका लागि ३६ लाख १८ हजार रुपियाँको लागत अनुमान गरिएको थियो ।
वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सो बुलबुलेको मुख्य ताल वरिपरिका पर्खाल र जमिनमा कालीकोट जिल्लाका ढुङ्गा बिछ्याएर आकर्षक बनाइएको छ भने पानी बग्ने १० वटा धारा पनि कलात्मक पारिएको छ ।
नगरपालिकाले कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ढुङ्गा ल्याएर बुलबुलेको पुरानो शैलीलाई नबिगारी पुनर्निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो । उहाँले यस वर्ष तालको मुख्य भागलाई पुनर्निर्माण गरिएको जानकारी दिँदै आगामी वर्ष दुई÷तीन करोड रुपियाँको थप संरचना निर्माण गर्ने योजना बनाइएको बताउनुभयो । विगतमा नुहाउन र लुगा दिने गरिएकोमा अहिले सो काम गर्न निषेध गरिएको छ । सो स्थानमा अहिले फोटो खिच्ने र टिकटक बनाउनेको भिड लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्