२०८३ वैशाख ६ , आइतबार
पूर्वाधार निर्माणमा अर्थ समितिको चासो

सडकका सबै आयोजना कार्यान्वयन गर्न माग



सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका सडक पूर्वाधारका सबै आयोजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । शनिबार बसेको अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यहरुले यस्तो माग गरेका हुन् ।
बैठकमा बोल्दैै समितिका सदस्य वीरबहादुर शाहीले स्रोत सुनिश्चित नभएका आयोजनाको जिल्लागत बिवरण राखिदिने आग्रह गरे । उनले प्रदेश गौरवको सिहदरबारको निर्णामा ढिलाई हुने वातावरण आउन नदिन सरकारलाई सजक गराए ।


त्यस्तै समितिका सदस्य बलिमाया बुढाले प्रदेश सरकारले सञ्चालन गरेका थुप्रै सडक आयोजनाहरु अलपत्र परेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन् । उनले लेकवेशी र गुर्भाकोटका कतिपय सडकहरु वर्षाैदेखि काम हुन नसकेको बाइन् ।
समितिका अर्र्कासदस्य दुर्ग बहादुर रावलले पनि सडक पूर्वाधार निर्माणमा सरकारलाई आग्रह गरे । उनले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गरेको थुप्रै लाभग्राहीले तेस्रो किस्ता वाफतको रकम प्राप्त गर्न नसकेको भन्दै तत्काल रकम उपलब्ध हुने वातावरण बनाइदिन आग्रह गरे ।


त्यस्तै समितिका उर्मिला विकले नयाँ आयोजना भन्दा पूरानै आयोजनालाई पूरा हुनेगरी आयोजना कार्यान्वयन गर्न सरकारदलाई आग्रह गरिन् । उनले प्रादेशिक तथा जिल्लास्तरका सडक विस्तारमा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताइन ।


सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट कार्यान्वयनका लागि सबै जिल्लाका प्रमुखसँग छलफल गरेको भन्दै समय र परिस्थितिका कारण काम गर्न समस्या भएको बताए । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सचिव अर्जुनकुमार बमले डीपीआर नै नगरेका कारण सडकका धेरै आयोजनाहरु कार्यान्वयन ल्याउन कठिनाइ भएको बताए ।
अर्थ तथा प्राकृति स्रोत समितिका सभापति दक्षिणा शाहीको अनुपस्थितिमा समितिका जेष्ट सदस्य हिक्मत विष्टको अध्यक्षतामा बसेको बैठकमा समितिका सचिव राजेन्द्र पौडेलले बैठकको कार्यसूचिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार