
सुर्खेत । जेनजी आन्दोलनपछि ध्वस्त भएको कर्णाली प्रदेशसभाको भवन पुननिर्माणमा प्रदेशसभा सदस्यहरुले चासो देखाएका छन् । शनिबार अर्थ तथा प्राकृति स्रोत समितिको बैठकमा प्रदेशसभाका सदस्यहरुले प्रदेश सभाको भवन निर्माण प्रक्रिय अगाडि बढाइ दिन प्रदेश सरकारसँग आग्रह गरेको छन् । अर्थ तथा प्राकृति स्रोत समितिका सभापति दक्षिणा शाहीको अनुपस्थितिमा समितिका जेष्ट सदस्य हिक्मत विष्टले प्रदेशसभाको भवन निर्माणका लागि तत्काल कर्मचारी खटाइ दिन प्रदेश सरकारसँग आग्रह गरेका हुन् । आउँदो माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याउँदै विष्टले प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढासँग प्रदेशसभा भवन निर्माणको प्राविधिक काम सम्पन्न गर्नका लागि तत्काल कर्मचारी खटाइ दिन आग्रह गरेका हुन् । ‘हामीले प्रदेशसभाको भवन तत्काल निर्माण गर्नुपर्ने छ, प्राविधिक कामको लागि मन्त्रालयबाट तत्काल कर्मचारी खटाइ दिनुप¥यो’ विष्टले भने, ‘कर्मचारीका कारण प्रदेशसभाको भवन निर्माणमा ढिला गर्नुभएन ।’ मन्त्रालयको सचिव अर्जुनकुमार बमले प्रदेशसभाको भवनको अध्ययन गर्न अबको दुई तीन दिनभित्र प्राविधि अध्ययनको लागि कर्मचारी खटाउने प्रतिबद्धता जनाए ।
जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेशसभाको बैठक सञ्चालन चल्ने भवनको संरचना पूर्णरुपमा ध्वस्त छ । यो भवन तत्काल निर्माण गर्न सकिने अवस्था छैन । जसका कारण प्रदेशसभा सचिवालयले यसअघि प्रयोग गर्दै आएको प्रि–फ्याप हललाई नै पुननिर्माण गरेर आउँदो अधिवेशन सञ्चालन गर्ने योजनामा छ । प्रि–फ्याप हल पनि आन्दोलनमा पूर्णरुपमा ध्वस्त भएको छ । थोरै लगानी र छोटो समयमै निर्माण गर्न सकिने भएपछि सोही हलमा बैठक सञ्चालन गर्नेगरी भवन निर्माण गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । सोही कारण प्रदेशसभाका सदस्यहरुले तत्कालन भवन निर्माणको काम अगाडि बढाउनेगरी कर्मचारी खटाइ दिन सरकारसँग माग गरेका हुन् । आउँदो माघ २१ गतेभित्र प्रदेशसभा सञ्चालन गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्