
सुर्खेत । मानवसेवा आश्रम सुर्खेतमा नयाँ भवन निर्माणका लागि शक्रबार शिलान्यास गरिएको छ। आश्रमका सेवा तथा व्यवस्थापन क्षमता विस्तार गर्ने उद्देश्यले निर्माण हुन लागिरहेको प्रदेश भवनको लागत अनुमान ढाई कराेड बढी अर्थात् २ कराेड ५० लाख ५८ हजार ६ सय ७६.०२ रहेको छ ।

भवन निर्माणका लागि चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले १ कराेेड ५० लाख विनियोजन गरेको छ। बाँकी रकम चरणबद्ध रूपमा उपलब्ध गराइने जनाइएको छ ।

शिलान्याससँगै अब निर्माण कार्य औपचारिक रूपमा सुरु भएको आश्रमले जनाएको छ। भवन निर्माण भएपछि आश्रमले आश्रितहरूलाई थप सुव्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्न सक्ने अपेक्षा राखिएको छ ।

भवन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
प्रदेश सरकारबाट निर्माण हुने प्रदेश भवनको लागत अनुमान दुई करोड ५० लाख रहेको छ। जसअन्तर्गत चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट १ करोड ५० लाख विनियोजन गरिएको छ ।
मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा समुदायिक सहभागिता र सहयोगका लागि मुख्यमन्त्री कँडेलले आग्रह गरे । मानवसेवा स्थल निर्माणले सामाजिक सदभाव र एकता कायम राख्ने बताए ।

वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको र यसका लागि आफूले नियमित पहल गरिरहेको समुदायलाई जानकारी गराए ।
आश्रम भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गरिदिन आग्रह गरे। यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए ।
सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरुप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए ।
सरकारी घोषणालाई कार्यान्वयन गर्न एउटा मात्र संस्थामा भर पर्न नहुने प्रति सचेत भएको बताए ।

मानवता प्रवर्द्धन र सेवाका निमित्त प्रदेश सरकारको प्राथमिकता रहेको जिकिर गर्दै भवन निर्माण जस्ता पूर्वाधार संरचनाको काममा लागिरहेको जानकारी दिए ।

मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा. नवराज केसीले भवन निर्माणको लागि महायज्ञ मार्फत दान संकलन गरिएको स्मरण गर्दै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । आश्रमको समयमै भवन निर्माण गर्न सहयोग गर्न अपिल गरे ।
भवन निर्माण स्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गरे। ज्येष्ठ नागरिक हरुका लागि सामुदायिक भावना सहितको मनोरन्जनत्मक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना देखाए ।
प्रतिक्रिया दिनुहोस्