२०८३ वैशाख ६ , आइतबार

को बन्ला कर्णालीमा नेकपाको नेता ?



सुर्खेत । साविक माओवादी केन्द्र र एकीकृत समाजवादी बुधबारदेखि कर्णाली प्रदेशसभामा पनि एउटै दल बनेका छन् । पार्टी नै एक भएपछि दुबै दलका प्रदेशसभा सदस्यहरुले औपचारिक रुपमा संसदीय दललाई बनाएका छन् । अब साविकका दुबै दलका प्रदेशसभा सदस्यहरु स्वतहः नेपाली कम्युनिष्ट पार्टी संसदीयका सदस्यहरु बनेका छन् ।
तर तत्कालीन माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री समेत रहेका राजकुमार शर्मा भने एकता प्रक्रियामा सहभागी भएका छैनन् । शर्मा जनार्दन शर्माले अगुवाइ गरेको प्रगतिशिल लोकतान्त्रीक पार्टीमा लागेपछि एकता प्रक्रियामा सहभागी नभएका हुन् । पार्टी एकीकरण हुने निश्चित भएपछि शर्माले बुधबार विहान मात्रै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर ह्वाट्स्पा मार्फत राजीनामा पत्र बझुाएका थिए । पार्टी एक हुनुअघि जिसी दलको प्रमुख सचेतक थिए । सोही कारण शर्माले जिसीलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका हुन् । दलको विधान अनुसार पार्टी एक भएपछि स्वतहः साविक दलको नेताको पद राखेज हुने प्रावधान छ । सोही प्रावधान अनुसार पद जाने निश्चित भएपछि शर्माले राजीनामा पत्र बुझाएका हुन् ।
शर्मा एकता प्रक्रियामा समेल नभएपछि अब प्रदेशसभामा नयाँ बन्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेता को बन्ला भन्ने चर्चा सुरु भएको छ । अहिलेलाई प्रमुख प्रतिपक्ष दल र राजनीतिक अंकगणित मिलेमा मुख्यमन्त्री हुन सक्ने भएका कारण  संसदीय दल आकर्षक र शक्तिशाली पद हो ।
पार्टी एकीकरणपछि बनेको नेकपाको नेताका लागि कृष्णबहादुर जिसी सबैभन्दा बलिया पात्र हुन् । साविक माओवादी केन्द्रको प्रमुख सचेतकको भूमिका निर्वाह गरिसकेका जिसी नै दलको नेताको लागि सबैभन्दा बलिया पात्र हुन् ।
बुधबार बसेको दलको बैठकले पनि जिसीलाई नै दलको नेताको कामकाज गर्ने जिम्मेवारी दिएको छ । शर्माको अनुपस्थितिमा यसअघि पनि जिसीलाई नै दलको सम्पूर्ण निर्णय लिने र समन्वय गर्ने जिम्मेवारी दिएको थियो । यति हुँदाहुँदै पनि पार्टीको हितको पक्षमा खरो उर्तिने र प्रभावकारी समन्वय गर्न सक्ने क्षमताका कारण जिसीको सम्भावना बलियो छ ।


जिसी दलको नेताका बलिया दाबेदार बन्नुको अर्का कारण साविक माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यको साथमा छन् । तर जिसी नेता बन्नका लागि पनि पार्टीको मुल नेतृत्व र संसदीय दलको नेताको प्रमुख दावेदार सदस्यहरुले खेल्ने भूमिकामा निर्भर रहन्छ ।
हाल प्रदेशसभा सदस्य विन्दमान विष्ट, भीमप्रकाश शर्मा समेत दलको नेताका आँकाक्षी छिन् । यस अघि नै दलको नेता बन्ने दाउमा रहेका विष्ट यसपालि पनि दलको नेताको लागि स्वभाविक उम्मेद्वार हुन् । पार्टीगत र सिन्यारिटीका हिसावले विष्ट र शर्मा जिसीभन्दा अघि छन् । सिनियर हुँदाहुँदै माओवादी केन्द्रभित्र शक्ति बस्नेत र जनार्दन शर्माको शक्ति संघर्षको चेपुवामा परेपछि विष्ट संसदीय दलको नेताबाट रिग आउट भएका थिए । पार्टी छोड्नु अघिसम्म कर्णालीमा माओवादीभित्र जनार्दनको रापताप थियो । पार्टी र संसदीय दलमा शर्माको पकड थियो । सोही कारण शक्ति बस्नेतको प्रिय पात्र हुँदाहुँदै पनि विष्ट दलको नेता बन्न सकेका थिएनन् । यसपालि विष्टलाई दलको नेता बन्ने अनुकुल समय छ । जनार्दनले पार्टी नै छोडेर नयाँ बाटोमा लागि सकेका छन् । बस्नेतसँग अर्का नेता कालीबहादुर मल्ल पनि विष्टप्रति सकारात्मक छन् । तर दलका अन्य सदस्यहरुलाई आफ्नो पक्षमा पार्न विष्टलाई चुनौती छन् । अहिलेकै अवस्थामा विष्टलाई दलको नेता बनाउँदा शक्ति बस्नेतको रातपात बढ्ने र पहिले जनार्दनलाई साथ दिएका नेताहरुलाई पार्टीले पेलेको ठहरीने छ । यसकारण पनि पहिलेको गुटउपगुट नहेरेर सिधै जिसीलाई दलको नेता बनाउनुपर्ने कतिपयको बुझाइ छ ।
त्यस्तै भीमप्रकाश शर्मा पनि दलको नेताको दौडमा छन् । सल्यानबाट निर्वाचित शर्मालाई दलको नेता बनाउने नेताहरु महेन्द्रबहादुर शाही र प्रकाश ज्वाला सकारात्मक छन् । शाही कर्णालीका संस्थापक मुख्यमन्त्री हुँदा शर्मा प्रमुख राजनीतिक सल्लाहकार थिए । साविक एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका ज्वालाले गृह जिल्लाका शर्मालाई नेता बनाउन सकारात्मक छन् । शर्मालाई अहिले नेता बनाउँदा आसन्न प्रतिनिधिसभा निर्वाचनमा साथ पाउने आशले ज्वाला शर्माको पक्षमा छन् । तर ज्वाला दलको नेता छनौट गर्ने अधिकार संसदीय दललाई दिनुपर्ने र यसमा पार्टी हस्तक्षप गर्न नहुने पक्षमा छन् ।
दलको नेताबाटपछि हटेको खण्डमा भने शर्मा प्रमुख सचेतक पदका सबैभन्दा बलिया पात्र हुन् । यद्यपी प्रमुख सचेतकमा पूर्व माओवादी सचेतक रणसिंह परियारसँगै मंगल शाही र विरबहादुर शाही पनि दाबेदार छन् । कतिपय नेताहरुले भने शर्मा र परियारमध्ये एकजनालाई प्रमुख सचेतक बनाएर जिसीलाई नै दलको नेता बनाउनुपर्ने पक्षमा लबिङ थालेका छन् । विष्ट प्रदेशसभाको शक्तिशाली पद सार्वजनिक लेखा समितिको सभापति भएका कारण तत्काललाई जिसीलाई नै दलको नेताको रुपमा अगाडि सार्नुपर्ने पक्षमा छन् । तर राजनीतिक अंकगणित मिलेको खण्डमा दलको नेता मुख्यमन्त्री बन्ने दाउका कारण विष्टले यसपालि दलको नेताबाट पछि हट्ने पक्षमा छैनन् । जिसी र शर्माले एक अर्कालाई साथ दिएको खण्डमा भने यी दुई मध्ये एकजना दलको नेता बन्ने प्रबल सम्भावना छ ।
यद्यपी पार्टी नेतृत्वसँग सरसल्लाह गर्न र साविकका दुबै जना दलका नेताको राय सुझावका लिनुपर्ने भएका कारण दलको नेता चयन गर्न अझै हप्तादिन लाग्ने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार