
सुर्खेत । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण ह्वीलचेयर बास्केटबल खेल भएको छ । स्पाइनल इन्जुरी युनियन, सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा मैत्रीपूर्ण ह्वीलचेयर बास्केटबल खेल भएको हो । जसमा स्पाइनल इन्जुरी युनियन र सुदूरपश्चिम प्रदेशको तर्फबाट एपी इन्क्लुसिभ पारा एथलेटिक्स स्पोट्र्स क्लब सहभागी थिए ।
अपाङ्गता भएका व्यक्तिहरू आत्मविश्वासी, सक्षम र सम्मानजनक तथा सक्रिय जीवन जिउन पूर्ण रूपमा सक्षम छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको स्पाइनल इन्जुरी युनियनका संयोजक दिव्या खड्काले जानकारी दिइन् । सेभ द चिल्ड्रेनका पैरवी र सञ्चार निर्देशक आयुष जोशीले खेल र खेलाडी तथा सहभागीबीचका अन्तरक्रियाले अपांगता भएका व्यक्तिहरूप्रतिको ज्ञान, दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारको तर्फबाट अपांगता भएका व्यक्तिहरूले समावेशी सेवाहरूमा पहुँच पाउन सक्ने वातावरण निर्माणमा पूर्ण प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले चेतनामूलक गतिविधि प्रवद्र्धन गर्न र अपांगता अधिकारलाई अगाडि बढाउन निरन्तर काम गर्दै जाने बताए ।
प्रतिक्रिया दिनुहोस्