
सुर्खेत। कर्णाली प्रदेश योजना आयोगले आयोजना बैंक, सशर्त, समझदारी तथा विशेष अनुदानका कार्यक्रमहरूको प्रस्ताव, छनौट र प्रभावकारी कार्यान्वयनबारे जानकारी तथा छलफल गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
वीरेन्द्रनगरस्थित कृषि तथा पशुपन्छी विकास प्रशिक्षण केन्द्रको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रदेशसभा सदस्यहरू नीति–निर्माताहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश योजना आयोगका प्रतिनिधिहरूले आगामी वर्षका कार्यक्रम छनौट गर्ने प्रक्रिया, प्रस्ताव दर्ता गर्ने विधि, बजेट वितरणका मापदण्ड र अनुगमन प्रणालीबारे विस्तृत प्राविधिक ब्रिफिङ प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया सत्रमा सहभागीहरूले प्रदेशका विकास योजनाहरू व्यवहारिक, दीगो र स्थानीय आवश्यकता अनुरूप बनाउन सुझाव राखेका थिए । साथै, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय अभावका कारण परियोजना कार्यान्वयनमा देखिएका चुनौतीबारे पनि प्रश्न उठाइएको थियो ।
कर्णाली प्रदेश सरकारका सम्बन्धित निकायहरूबीच सहकार्यमा आयोजित उक्त कार्यक्रमले आगामी नीति तथा योजना निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान दिने आयोजक पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्