२०८३ वैशाख ३ , बिहीबार

मन्त्री भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ लोकार्पण



सुर्खेत । लेखक एवम् कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको कविता संग्रह ‘शाश्वत सत्य’ लोकार्पण (विमोचन) भएको छ । शनिबार वीरेन्द्रनगरमा औपचारिक कार्यक्रमकाबीच वरिष्ठ साहित्यकार एवम् प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसूदन गिरी , डा. नवराज लम्साल, ओम रिजाल लगायतले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गरेका हुन् ।


कविता संग्रहका लेखक मन्त्री भण्डारीले राजनीतिभन्दा साहित्य शक्तिशाली भएको भन्दै आफूले साहित्य र राजनीतिकलाई सँगसँगै लिएको बताए । दोस्रो कवितासंग्रह बजारमा ल्याएका कवि भण्डारीले कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिहुँदा कर्णालीका विभिन्न जिल्लामा पुग्दाको क्षणलाई यात्रा अनुभूतिको रुपमा छिट्टै नियात्रा पुस्तक प्रकाशन गर्ने घोषणा गरे । बदलिदो परिवेश, जीवनशैली र मानव जीवनका केही अंशहरुलाई कविता संग्रहमा संग्रहित गरेको बताए । पहिले भुइमा बसेर पढ्ने स्कूलहरु, खरको छानो, टिनको छानोहुँदै भवन भयो तर पढेलेको शिक्षकहरु गाउँमा पाउन नसक्ने जस्ता विषय बस्तु पनि कविता संग्रहका अंश बनाएको बताए । ‘गाउँमा विकास पुग्यो, हामी शहरतिर झ¥यौ’ भण्डारीले भने, ‘गाउँमा बत्ति पुग्यो, बाटो पनि पुग्यो तर गाउँमा बस्ने पान्छे छैन ।’
कार्यक्रमका प्रमुख अतिथि डा. मधुसूदन गिरीले शाश्वत सत्य कविताले नेपाली साहित्यमा एउटा इट्टा थपिएको धारणा राखे । कविता संग्रहमा मन र मस्तिकको सन्तुलन गर्न खोजीएको भन्दै सर्जक र समाजसेवी भावनाले भरिएको उल्लेख गरे । कविको पहिलो कविता संग्रहमा आवेग विषयबस्तु शक्तिशाली रुपमा उठाएको भन्दै दोस्रो कविता संग्रह शाशत सत्य कविता संग्रह आवेगमा विवेक सहितको संग्रह ल्याएको बताए । ‘पहिलो कविता संग्रहमा आवेग थियो, अहिले आवेगमा विवेक थपिएको छ’ उनले भने, ‘विवेकसहितको परिस्कारवादी र स्वच्छन्दता मिल्यो बन्ने उच्च कोटीको रचनाहरु बन्दछन् ।’ उनले कवि भण्डारीलाई समाजसेवी र सर्जकको रुपमा चित्रित गरे ।

त्यस्तै डा. लम्सालले विचारमा संगठित हुनेहरु राजनीतिज्ञ भएको तर्क गर्दै विचारभन्दा माथि उठेर विवेक प्रयोग गर्नसक्नेहरु मात्र साहित्यकार हुने बताए । विवेकमा खेल्ने र लेख्नेहरुको राजनीतिक भविष्य पनि उज्यालो भएको भन्दै उनले मन्त्री भण्डारीलाई विचारभन्दा माथि उठेर विवेकको तहमा पुगेको भनेर प्रंशसा गरे । मन्त्री भण्डारीकै अग्रसरतामा सामाजिक विकास मन्त्रालयले हालै प्रकाशन गरेको खस भाषाको शब्दकोशको प्रकाशन र बागिना समूहको भवनले विवेकको पुष्टि गरेको धारणा राखे ।


त्यस्तै अर्का साहित्यकार ओम रिजालले कविता संग्रहले जीवनका अध्यारा पक्षहरूलाई पन्छ्याउँदै उज्यालोतर्फ हुनुपर्ने सन्देश दिएको बताए । जीवन र मृत्युको विभिन्न दृष्टिकोणहरु भेटिए बताउँदै लेखक मडारिएको बादलबाट उठ्न सकेकै कारण शाशत सत्य कविता संग्रह ल्याउन सफल भएको बताए । मृत्युलाई शाशत सत्य भनिएपनि यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण र चिन्तहरु आ–आफ्नै हुने उल्लेख गर्दै उनले सत्तामा भनेपनि विपक्षमा कलम चलाउनु नै पुस्तकको सफल पक्ष भएको बताए । कविहरु जहिले पनि सत्ताको विपक्षमा हुने दावी गर्दै उनले भने, ‘कविता संग्रहमा माननिय घनश्याम नभई विद्रोही चेतको कवि भेटाएको छु यो नै पुस्तकको सबैभन्दा सबल पक्ष हो ।’


कविता संग्रहमाथि समीक्षा गर्दै साहित्यकार एवम् मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक वासुदेव पाण्डेले शाश्वत सत्य अञ्चालिक कविता संग्रह भएको बताए । कविता संग्रहमा सत्य प्रेम, अभावको पाठशाला र कर्णालीको गौरवय इतिहास र संस्कृततिलाई लिपिबद्ध गरिएको बताए । उनले मानव जीवनका हरेक कालखण्डहरुलाई सुन्दर रुपमा उतारिएको, नयाँ पुस्ताले हाम्रो कला र संस्कृतलाई भुल्न थालेको वास्तविकतालाई कविले कवितामा कैद गर्न सक्नु सुखद पक्ष भएको उल्लेख गरे ।


विमोचन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्का, रणसिह परियार, जुम्कित लामा, मिलन खड्का, सामाजिक विकास मन्त्रालय निमित्त सचिव जहवारलाल हमाल सहित विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार