२०८३ साउन ११ , सोमबार

पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै मध्यपश्चिम विश्वविद्यालय



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले पाँच वर्षे रणनीतिक योजना बनाउन प्रक्रिया सुरु गरेको छ। योजना निर्माणका लागि विश्वविद्यालयले सरोकारवालासँग सुझाव संकलन गर्न थालेको छ। सोही क्रममा योजना विकास तथा अनुगमन निर्देशनालयले दैलेखको नारायण बहुमुखी क्याम्पसबाट अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो।

कार्यक्रममा पूर्व सांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारले माग गर्ने जनशक्ति तयार गर्ने किसिमले योजना बनाउन सुझाव दिए। योजना निर्माण समितिका संयोजक तथा निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षित गर्ने, रोजगार–उन्मुख सीप सिकाउने र व्यवहारमै रूपान्तरण हुने कार्यक्रम समेटिने बताए।

अन्तरक्रियामा नारायण नगरपालिकाकी उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य तथा ग्राजुयट स्कूल अफ इन्जिनियरिङका डीन सह–प्रा. राजन सुवाल, क्याम्पसका पूर्व अध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापति, तेजबहादुर चन्द, पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायत सहभागीले क्याम्पसमा नियमित तथा प्रविधिमैत्री कक्षाको आवश्यकता, व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड, तथा क्याम्पस विकास–विस्तारका उपायलाई योजनामा समावेश गर्न सुझाव दिए। मध्यपश्चिम विश्वविद्यालयले संकलित सुझावका आधारमा आगामी पाँच वर्षका लागि प्रभावकारी रणनीतिक योजना तयार गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार