२०८३ साउन १२ , मंगलबार

मानसिक स्वास्थ्यका दुई महत्वपूर्ण पुस्तक सार्वजनिक



सुर्खेत । बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्यमा मेन्टल हेल्थ नर्सहरूको क्षमता विकासका लागि पूर्व–सेवा तालिम पुस्तिका र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्यमा कार्यरत मेन्टल हेल्थ नर्स र संयोजकको क्षमता विकासको लागि सुपरिवेक्षण निर्देशिका सार्वजनिक गरिएको छ । दुबै पुस्तिका शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सार्वजनिक गरेका हुन् ।
सरोकारवाला निकायसँगको समन्वय बैठक समेत सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यी पुस्तकहरुले मानसिक सेवा प्रवाहमा अझ सजिलो हुने बिश्वास व्यक्त गरे । मन्त्री भण्डारीले मानसिक स्वास्थ्य राम्रो हुनका लागि घर परिवारको महत्वपूर्ण भूमिका हुने बताए । ‘आफ्नै छोराछोरीले बुवाआमाले भनेको मान्ने वातावरण छैन’ उनले भने, ‘प्लटु सकेपछि विदेश नै जानुपर्छ भन्ने सोचका कारण पनि मानसिक समस्या बढ्दो छ ।’ समाजमा दैनिक हत्या, हिम्सा र दुव्र्यवहारका घटनाक्रमले मानवता हराउँदै गएको समेत बताए । युवाहरुलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने चेतनाको विकास गर्न सकेको खण्डमा केही रुपमा मानसिक समस्या न्यूनीकरण हुने मन्त्रीको धारणा थियो ।
सीटीभीटीको समन्वयमा कर्णाली प्रदेश सरकारले सुर्खेतको गुर्भाकोटमा तीन वर्ष नर्सिङ्ग कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै मन्त्री भण्डारीले सरकारका अन्य निकायसँग समन्वय गरेर हरेक अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्गलाई मानसिक स्वास्थ्यको बारेमा तालिम तथा क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताए ।
नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिराकुमारी निरौलाले रणनीति बनाएर विद्यालय नर्सिङ्ग कार्यक्रममा मानसिक स्वास्थ्यलाई सँगसँगै जोडेर लैजानुपर्ने बताइन् । सीएमसी नेपालले कर्णालीका विभिन्न जिल्लामा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । पाइलट प्रोजेक्टका रुपमा सीएमसीले सुर्खेतको सालकोट र मेहलकुना अस्पतालमा मानसिक स्वास्थ्य नर्सिङ व्यवस्था गरेको छ । यी दुई अस्पतालले करिब ३ सय जनाले मानसिक स्वास्थ्य उपचार सेवा लिएरका छन् ।
युनिसेफको सहयोग सी.एम.सी.नेपालको प्राबिधिक सहकार्यमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव जवाहरलाल हमाल, प्रदेश स्वाथ्य निर्देशनालयका निमित्त निर्देशक मानकुमारी गुरुङ्ग, मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही, प्रदेश स्वास्थ्य आपूर्ती केन्द्रका निमित्त निर्देशक कृष्ण सापकोटा लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार