
सुर्खेत । कर्णाली प्रदेश सरकारले बीउ विकास बैंक गठन गर्ने तयारी गरेको छ । कर्णालीको रैथाने तथा उन्नत जातका बीउ संरक्षण र उत्पादन प्रवर्द्धनका लागि ‘एक पालिका–एक सामुदायिक बीउ बैंक अभियान अघि बढाउने भएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा साझेदार संस्थाले आयोजना गरेको नीति संवादबाट सबै ७९ पालिकामा बीउ बैंक आवश्यक हुने निष्कर्ष निकालिएको हो । कृषिमन्त्री विनोद कुमार शाहले कार्यक्रमलाई व्यवहारिक रूपमा लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै स्थानीय तह, सहकारी र समुदायको संयुक्त प्रयास अपरिहार्य रहेको संकेत गरे।
सामुदायिक बीउ बैंक संघका अनुसार देशभर २९ मध्ये कर्णालीका दुई मात्र बैंक संघमा आबद्ध छन्। जलवायु परिवर्तनका बीच स्थानीय बीउ संरक्षणको महत्त्व झन् बढिरहेको सरोकारवालाहरूले बताए। जुम्लाको हाँकु सामुदायिक बीउ बैंक नमुना संस्थाको रूपमा पहिचान भएको छ भने दैलेखको पञ्चकोशी सहकारीले ‘पञ्चकोशी ब्रान्ड’ मा तरकारी बीउ उत्पादन गर्दै किसानको आय वृद्धि गरिरहेको छ। कार्यक्रम सफल कार्यान्वयन भए कर्णाली खाद्यान्न आत्मनिर्भरता, रैथाने बाली संरक्षण र किसान आय वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्