२०८३ वैशाख ६ , आइतबार

बनगाड कुपिण्डेमा १५ शैय्या क्षमताको नगर अस्पताल सञ्चालनमा



सल्यान। बनगाड कुपिण्डे नगरपालिकामा १५ शैय्या क्षमताको नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ। मंगलबार सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले देवस्थलस्थित वडा नम्बर–१ मा निर्माण भएको अस्पतालको उद्घाटन गरेका हुन्। अस्पताल शुभारम्भ समारोहमा मन्त्री भण्डारीले स्वास्थ्य तथा शिक्षामा केन्द्रित पूर्वाधार अभावकै कारण ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढिरहेको उल्लेख गर्दै स्थानीय तहमा स्वास्थ्य संरचना सुदृढीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले सल्यान दार्मा बाहेकका सबै स्थानीय तह तथा रुकुम पश्चिमका सबै पालिकामा मेडिकल अधिकृत खटाइएको जानकारी पनि दिए।

उनका अनुसार आवधिक निर्वाचनमार्फत जनताले जनप्रतिनिधिको मूल्यांकन गर्दै आएकोले सेवा प्रवाहमा उत्तरदायित्व, पारदर्शिता र गुणस्तर कायम गर्न सबै तह जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए। सरकारी स्वास्थ्य सेवाप्रति देखिएको असन्तुष्टिलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सुधार र सहकार्यका लागि सबै पक्षलाई आह्वान गरे।

कार्यक्रममा प्रदेश सभा सदस्य भीमप्रकाश शर्माले प्रदेश सरकारको सहयोग र जनशक्ति व्यवस्थापन भएपछि मात्र अस्पताल सञ्चालन सम्भव भएको बताए। आधारभूत उपचार सेवा नपाइरहेको क्षेत्रमा अस्पताल सञ्चालन हुनु नै स्थानीयका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले यसको सुदृढीकरणका लागि निरन्तर पहल गर्ने प्रतिवद्धता जनाए।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले वर्षौँदेखिको नगरवासीको सपना पूरा भएको भन्दै अस्पताल सञ्चालनले दूरदराजका नागरिकलाई ठूलो राहत मिल्ने बताए। उनले संस्थागत विकास र सेवा विस्तारका लागि नगरपालिकाले निरन्तर रूपमा अघि बढ्ने बताए।

अस्पताल सञ्चालनसँगै स्थानीयले अब आफ्नै क्षेत्रमै आधारभूत उपचार सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार