२०८३ वैशाख ६ , आइतबार

भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न लागिपरेको छ : कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मुलुकको प्रचलित कानुनअनुसार युवाले उठाएका न्यायोचित आन्दोलनलाई साथ दिन सरकार तयार रहेको उनले स्पष्ट पारे ।

सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले भदौ २३ र २४ गते ‘जेनजी’ नाममा भएको अराजक आन्दोलनलाई भने समर्थन गर्न नसकिने बताए । “सत्यका पक्षमा युवाको मागलाई हामी सधैँ समर्थन गर्छौँ तर देश जलाउने गतिविधिलाई प्रोत्साहन गर्न सकिँदैन,” उनले भने ।

उनका अनुसार शिक्षा, स्वास्थ्य, विकास र रोजगारीका क्षेत्रमा प्रदेश सरकारले उपलब्ध स्रोतसाधनअनुसार निरन्तर काम गरिरहेको छ ।

कार्यक्रम गाउँपालिका अध्यक्ष मोहन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार