२०८३ वैशाख ६ , आइतबार

सामाजिक मुद्दामा सक्रिय बन्दै सामाजिक समिति



सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति समसामयिक विषय र सामाजिक मुद्धामा सक्रिय बन्न थालेको छ । जेनजी आन्दोलनपछि प्रदेशसभाका अन्य विषयत समितिहरुले नियमित गतिविधि गर्न नसकिरहेका बेला सामाजिक विकास समितिले भने सबैखाले सामाजिक मुद्धामा केन्द्रीत हुन थालेको छ । नागरिकमैत्री सेवा प्रवाहका लागि समितिले नियमित बैठक र छलफल गरेर सक्रियता देखाएको हो । आइतवार मात्रै समितिले सामाजिक विकास मन्त्री घनश्याम भण्डारीसहित सरकारका अधिकारीसँग विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेको छ । समितिले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे जिज्ञासा राख्दा मन्त्री भण्डारीले केन्द्रीय सरकारले अझै आवश्यक समन्वय नगरेकाले प्रतियोगिता अनिश्चित बनेको टिप्पणी गरे । उनका अनुसार फागुन १ गते मिति तोकिए पनि मूल आयोजकको तदारुकता नदेखिँदा र निर्वाचन मिति जुध्न सक्ने सम्भावनाले प्रतियोगिता बारे शंका अझै कायमै छ ।

यसैबीच, कर्णाली प्रदेश खेलकुद विकास ऐन संशोधनका लागि तयार गरिएको ड्राफ्ट आगामी प्रदेशसभा अधिवेशनमा पेश गर्ने तयारी रहेको मन्त्री भण्डारीले जानकारी दिए । ऐनको संशोधन विधेयक यसअघि दफावार छलफलपछि थप परिमार्जनका लागि फिर्ता पठाइएको थियो । स्वास्थ्य क्षेत्रमा, कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ को परीक्षण अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयले सैद्धान्तिक काम अघि बढाइरहेको मन्त्री भण्डारीले बताए। बैठकमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम र राउटे नीति निर्माण प्रक्रियाको अवस्थाबारे समेत छलफल भयो । दुवैको अन्तिम मस्यौदा तयार भई सैद्धान्तिक सहमतिको लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइसकिएको जानकारी मन्त्रीले दिए ।

साथै, सिकलसेल रोगीका लागि आवश्यक औषधि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत केही दिनभित्र वितरण हुने तयारी गरेको मन्त्रालयको भनाइ छ। बिरामीहरूले भोग्नुपरेको समस्याबारे समितिका सदस्यहरूले गम्भीर ध्यानाकर्षण गराएका थिए । समितिले कर्णालीमा शिक्षण अस्पताल निर्माणबारे सरकारको स्पष्ट धारणा माग्दै नीति–नियम निर्माण र कार्यान्वयनमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि समेत व्यक्त गरेको सभापति पूर्णबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार