२०८३ वैशाख ६ , आइतबार

पूर्व मुख्यमन्त्री शर्माबिनै बस्यो माओवादीको बैठक



सुर्खेत । एकता अघि कर्णाली प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता एवम् कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा दलको सम्पर्क बाहिर नरहेको जनाइएको छ । शर्मा दलको सम्पर्कमा नरहेका कारण शनिबार कर्णाली प्रदेशमा कपा (माओवादी केन्द्र) संसदीय दलको बैठक प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको छ । दलका नेता राजकुमार शर्मा अनुपस्थित थिए । शर्मा हाल जनार्दन शर्मानिकट मानिँदै प्रगतिशील राष्ट्रिय अभियानतर्फ झुकिएको चर्चा भए पनि उनले औपचारिक रूपमा केही घोषणा गरेका छैनन्।
शर्मा सम्पर्कमा नभएकाले बैठक आफूले संचालन गरेको सचेतक जिसीले जानकारी दिए । बैठकले माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रदेशस्तरीय संसदीय दल एकीकरण गरी ‘नेपाली कम्युनिस्ट पार्टी’ नाममा अघि बढाउने निर्णय गरेको छ ।
शर्माको अवस्थाबारे समन्वय गर्न तथा आवश्यक निर्णय लिन जिम्मेवारी जिसीलाई दिइएको छ। लगातार सम्पर्क नहुँदा दलभित्र उनको भूमिका अनिश्चित देखिएको बैठकमा सहभागीहरू बताउँछन्। शर्मा सुर्खेत फर्किएपछि स्पष्टता आउने अपेक्षा गरिएको छ। बैठकले हिउँदे अधिवेशन तत्काल बोलाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार