२०८३ वैशाख ६ , आइतबार

कर्णालीको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान



सुर्खेत । आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उपभोक्ताको मूल्यमा) ४.७४ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक मूल्यांकनअनुसार कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) आगामी आर्थिक वर्षमा करिब दुई खर्ब ५६ अर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकको अध्ययनले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको ४.१९ प्रतिशत योगदान रहने अनुमान गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको राष्ट्रिय GDP मा योगदान ४.२९ प्रतिशत हुने संशोधित अनुमान थियो। योगदानमा अलि कमी भए पनि कृषि, सेवा र पूर्वाधार क्षेत्रमा भइरहेको सुधारले प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकको मूल्यांकन छ।

अध्ययनअनुसार चालु वर्षमा कर्णाली प्रदेशको कृषि क्षेत्रमा ५.२४ प्रतिशत, उद्योग क्षेत्रमा ३.१३ प्रतिशत र सेवा क्षेत्रमा ३.९८ प्रतिशत योगदान रहने देखिएको छ। समयमै धान रोपाइँ हुनुले कृषि उत्पादनमा सकारात्मक असर परेको छ भने अन्य वर्षे बालीहरू पनि मौसम अनुकूलताका कारण राम्रो हुने अनुमान गरिएको छ।

प्रदेशमा आन्तरिक पर्यटन विस्तार, वित्तीय सेवा र वित्तीय पहुँच वृद्धि, डिजिटल भुक्तानी प्रणालीको विस्तार, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, यातायात र सञ्चार सुविधा विस्तार लगायतका सूचकहरू क्रमशः सबल बन्दै गएको राष्ट्र बैंकको कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जनाएको छ।

साथै, कर्णालीमा रणनीतिक महत्वका ठूला सडक परियोजनाहरू—पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग—को निर्माण तथा विस्तारले तीव्रता पाएको छ। यिनैसँगै विद्युत् प्रसारण लाइन विस्तार, पर्यटन पूर्वाधार निर्माण, भूकम्प पुनर्निर्माणका कार्य, कृषि, ऊर्जा, सुचना प्रविधि तथा खानेपानीसँग सम्बन्धित पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेका कारण आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको समग्र आर्थिक गतिविधि अझ बढ्ने राष्ट्र बैंकको आकलन छ।

विशेषगरि कृषि उत्पादनमा देखिएको सुधार, सेवा क्षेत्रको विस्तार, पूर्वाधार निर्माणमा आएको तीव्रता र आन्तरिक पर्यटनको बढ्दो प्रवाहले कर्णालीको आगामी आर्थिक अवस्था थप स्थिर र सकारात्मक बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार