२०८३ वैशाख ६ , आइतबार

कर्णालीमा बिजुली तार–केबुल उद्योग ९०% क्षमतामा



कर्णाली प्रदेशमा बिजुली तार तथा केबुल उत्पादन उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार उद्योगहरूको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र भए पनि तार–केबुल उद्योगको क्षमता उपयोग ९० प्रतिशत पुगेको छ। विपरीत रूपमा गलैँचा उद्योग सबैभन्दा कमजोर देखिएको छ भने यसको क्षमता उपयोग २३.०८ प्रतिशत मात्र छ।

अध्ययनले प्रदेशमा औद्योगिक कर्जा प्रवाह १.९४ प्रतिशतले घटेको उल्लेख गरेको छ। कुल कर्जामध्ये ६.५ प्रतिशत मात्र उद्योगमा लगानी भएको छ भने ८५.४७ प्रतिशत कर्जा सेवा क्षेत्रमा केन्द्रित छ। कर्णालीमा अहिले ४७५ बैंक शाखा र १८ शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्।

विद्युत् प्रसारण लाइन २०८१/८२ मा ३,५७५.७४ किलोमिटर पुगेको छ। कर्णाली करिडोर, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सनजस्ता पूर्वाधार परियोजनाले गति लिएको प्रतिवेदनमा उल्लेख छ।

गत आर्थिक वर्षमा प्रदेशले विनियोजित ३१ अर्ब ४१ करोडमध्ये ६३.६७ प्रतिशत खर्च गरेको छ। कुल आम्दानी २७ अर्ब ६८ करोड पुगेको छ।

प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार