
सुर्खेत । कार्टूनीष्ट नाम राङखानी का रूपमा पहिचान स्थापित कलाकार नगेन सिंहले तयार पारेको “नेपाल कला यात्रा” पुस्तक सार्वजनिक गरिएको छ। नेपालका ७७ वटै जिल्लाका दृश्य, सांस्कृतिक पहिचान, भौगोलिक विविधता तथा कलात्मक सम्पदालाई हस्तकलात्मक चित्रमा उतारी उनले निकै मेहनतका साथ पुस्तक तयार गरेका हुन्।
यस पुस्तकको औपचारिक लोकार्पण सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले गर्नुभयो। पुस्तकमा कर्णाली प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यदेखि लिएर सांस्कृतिक, पुरातात्विक तथा वास्तुकलाका विशेषता पनि समावेश गरिएको छ।
लोकार्पण समारोहमा मन्त्री भण्डारीले कर्णालीको भूगोल, पर्यटकीय सम्भावना, हस्तकला तथा ऐतिहासिक पृष्ठभूमि उजागर गर्दै कलाकारितामार्फत कर्णालीको पहिचान विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले “ॐ कैलाश, कर्णाली कर्म” अनुरूप कर्णालीका त्रिदेशीय आस्थालाई जोड्ने सम्भावित क्षेत्रहरूमा कलात्मक अध्ययन तथा प्रवद्र्धन गर्न आग्रह समेत गर्नुभयो।
राङखानी–१, बागलुङमा जन्मिएका कलाकार नगेन सिंहको पुख्यौली ठेगाना मुसीकोट दरबार, गुल्मी हुँदै स्याङ्जाको पतलीबजार नपा–८, कलियाथोक रहेको छ। हाल उहाँ पोखरा–३०, ढुंगेपाटन, लेखनाथ, कास्कीमा बसोबास गर्दै कला सिर्जनामा सक्रिय हुनुहुन्छ।
उक्त पुस्तकले नेपालको विविधता, संस्कृति र प्रकृतिलाई कला मार्फत विश्वसामु परिचित गराउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्