२०८३ वैशाख ६ , आइतबार

कर्णालीमा शैक्षणिक सीप र प्रशिक्षक प्रशिक्षण तालिम सुरु



सुर्खेत। शैक्षणिक सुधारलाई तीव्रता दिन शैक्षणिक सीप, समावेशी शिक्षा तथा पेशागत विकास सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि सुरु भएको छ। विद्यालयमा समावेशी, प्रभावकारी तथा सिकाइ–केन्द्रित वातावरण निर्माण गर्न प्रशिक्षक तयारी गर्ने उद्देश्यसहित सुरु गरिएको तालिम मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
यो तालिममार्फत प्रशिक्षकहरूले प्राप्त गरेको सीप क्रमशः शिक्षकहरूसम्म विस्तार भई समग्र शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ। उद्घाटन सत्रमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले तालिममा सिकिएको ज्ञान र सीप विद्यालयदेखि समुदायसम्म पुर्‍याउन अनिवार्य रहेको औंल्याए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरीय शैक्षणिक अभ्यासलाई कर्णालीमा लागू गर्न प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
मन्त्री भण्डारीले शिक्षाका कारण बसाइसराई हुने संख्या बढिरहेको उल्लेख गर्दै, यसले शैक्षिक उपलब्धि हासिल गर्न सहज बने पनि लामो समय बालबालिकासँग घरमै बस्ने आमाहरूको समय खेर जाने प्रवृत्ति देखा परिरहेको बताए।
यो समस्याको समाधानका लागि प्रदेश सरकारले आमाहरूलाई लक्षित सीप विकास तालिम सञ्चालन गर्न लागेको उनले जानकारी दिए। उनका अनुसार दीर्घकालीन समाधान ग्रामीण क्षेत्रको शिक्षण प्रणाली मजबुत बनाउँदा मात्र सम्भव छ, र यसका लागि यस प्रकारका तालिमहरू महत्वपूर्ण आधार हुनेछन्।
शिक्षा क्षेत्रमा देखिएको चुनौती र आवश्यकताका बीच सुरु गरिएको यो तालिमले स्थानीय शिक्षक, प्रशिक्षक तथा समुदायलाई जोड्ने पुलको काम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार