
सुर्खेत । बढ्दो मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्दै व्यक्तिको भावनात्मक, सामाजिक र व्यवहारगत पक्षलाई सुदृढ बनाउन आजदेखि मनोसामाजिक परामर्श तालिम मोड्युल–३ सुरु भएको छ । मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजित तालिम मंसिर १० गतेसम्म चल्नेछ ।
स्थानीय तहमा परिचालित मनोसामाजिक परामर्शकर्तासहित मनोसामाजिक स्वास्थ्य क्षेत्रका जनशक्तिको सहभागिता रहेको तालिमले समुदायस्तरमा मनोसामाजिक सेवा प्रभावकारी बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कर्णालीमा मनोसामाजिक परामर्शको अवधारणा, महत्व र आवश्यकताको स्पष्ट बुझाइ विकास गर्ने, स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्तामा व्यावहारिक परामर्श सीप विकास गर्ने, समुदायमा देखापर्ने मानसिक तथा मनोसामाजिक समस्याको पहिचान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने, उपयुक्त विधि तथा प्रविधिको प्रयोगमार्फत परामर्श सेवा प्रभावकारी बनाउने, लैङ्गिक हिंसा प्रभावित, बालबालिका तथा आत्महत्या जोखिमजस्ता संवेदनशील समूहलाई लक्षित सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
यस्तै सेवाग्राहीको समस्या विश्लेषण गरी उचित प्रेषण (चभाभचचब)ि प्रक्रिया सुनिश्चित गर्ने र परामर्शसम्बन्धी अभिलेखिकरण प्रणालीलाई व्यवस्थित बनाउने लगायतका उद्देश्यहरु छन् ।
उद्घान सत्रमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले परिवर्तनशील नेपाली समाजको मनोवैज्ञानिक अवस्थालाई उदाहरण दिँदै मानसिक स्वास्थ्यलाई अब समुदायस्तरमै सुदृढ रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए ।
उनले वैदेशिक रोजगारीका क्रममा नेपाली युवाले भोग्नुपरेका शारीरिक, मानसिक तथा आर्थिक जटिलताबारे उल्लेख गर्दै, “विदेशिने प्रक्रिया सुरक्षित र मर्यादित नबन्दासम्म मनोसामाजिक समस्या बढ्छन्,” भन्दै सुरक्षित वैदेशिक रोजगारका उपायहरूमा जोड दिए ।
उनका अनुसार वैदेशिक रोजगारबाट आएका आर्थिक स्रोतको प्रभावकारी सदुपयोग नहुँदा पनि सामाजिक समस्या र तनावका अवस्था बढ्दै गएको छ । तालिमले समुदायमै मनोसामाजिक सेवा विस्तार गर्दै मानसिक स्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्