
सुर्खेत । कर्णाली प्रदेश सरकारले बालविवाह नियन्त्रणका लागि महत्वपूर्ण कदम उठाउँदै ‘बालविवाह न्यूनीकरण रणनीति, २०८२’ स्वीकृत गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले रणनीति पारित गरेसँगै प्रदेशभर बालविवाहका घटना रोकथाम तथा न्यूनीकरणका लागि एकीकृत अभियान सञ्चालनको मार्ग प्रशस्त भएको छ।
कर्णालीमा पछिल्लो समय बालविवाहका घटनाहरू गम्भीर रूपमा देखा परेकाले सो समस्यालाई जरोमै उखेल्न प्रभावकारी पहल आवश्यक भएको प्रदेश सरकारको भनाइ छ। रणनीतिमा सरोकारवालाका जिम्मेवारी, भूमिकाको स्पष्ट बाँडफाँड, लक्ष्य तथा कार्यान्वयनका उपायहरू समावेश छन्। यसले प्रदेश, स्थानीय तहदेखि विद्यालय, परिवार र समुदायसम्म बालअधिकार संरक्षणको साझा अभियानलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।
सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले रणनीति प्रभावकारी कार्यान्वयनका लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। बालविवाह जस्ता सामाजिक विकृति अन्त्य गर्न नागरिक, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, समुदाय र नागरिक समाज सबै एकजुट हुनुपर्ने मन्त्री भण्डारीको अपिल छ।
कर्णाली सरकारले रणनीति स्वीकृत गरेसँगै बालमै हुने विवाहका जोखिम घटाउने, बालबालिकालाई सुरक्षित र सम्मानजनक वातावरणमा हुर्कन सहयोग पुर्याउने तथा सामाजिक चेतना अभिवृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको छ।
प्रतिक्रिया दिनुहोस्