
सुर्खेत । कर्णालीमा २१ प्रतिशत महिलाहरु किशोरावस्थामै गर्भवती हुने गरेको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो दर नेपालकै सबैभन्दा उच्च हो । कर्णालीमा एक हजार प्रसूतिमध्ये २१ प्रतिशत अर्थात दुई सय १० जना किशोरावस्थाका छन् । जुन राष्ट्रिय औसतभन्दा बढी हो । शारीरिक तथा मानसिक रूपमा परिपक्व नभई किशोरावस्थामा बच्चा जन्माउँदा किशोरीको स्वास्थ्यमा समेत जोखिम बढाउँदै लगेको छ ।
किशोरावस्था भनेर १० देखि १९ वर्ष उमेर समूहलाई बुझिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा किशोरीको संख्या २९ लाख ६ हजार २०७ छ । यो उमेरमा गर्भधारण गर्नु तथा सुत्केरी हुनु जोखिमपूर्ण मानिन्छ । तर नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क अनुसार नेपालमा कुल गर्भवती भएका ३ लाख ९५ हजार ८८६ मध्ये १४ प्रतिशत किशोरी छन् । कतिसम्म भने १ हजार किशोरीमध्ये ७१ जनाले बच्चा पाइसकेको अवस्था छ । उमेरै नपुगी गर्भवती हुनु र शिशु जन्माउनुलाई चुनौतीपूर्ण मानिन्छ ।
बालविवाहका कारण किशोरावस्थामै गर्भवती हुनेको दर उच्च हरेको छ । कर्णालीमा अहिले पनि झण्डै ३८ प्रतिशत बालविवाह हुने गरेको छ । अभिभावकहरूमा कम उमेरमै छोरीको विवाह गराइदिने प्रचलन, यौनशिक्षाको अभाव र परिवार नियोजनका साधनको पहुँच नहुँदा किशोरावस्थामै आमा बन्नुपर्ने बाध्यता धेरै किशोरीको छ ।
किशोरावस्था भनेर १० देखि १९ वर्ष उमेर समूहलाई बुझिन्छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा किशोरीको संख्या २९ लाख ६ हजार २०७ छ । यो उमेरमा गर्भधारण गर्नु तथा सुत्केरी हुनु जोखिमपूर्ण मानिन्छ ।
त्यस्तै कर्णाली प्रदेशमा ३५ प्रतिशत गर्भवती घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले एक वर्षमा गरेका गतिविधिसहितको पुस्तक ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ पुस्तकमा उल्लेख गरेका छन् । प्रतिवेदन अनुसार कुल गर्तवतीमध्ये ३५ घरमै सुत्केरी हुने गरेको हुन् । घरमै सुत्केरी हुँदा गर्भवती र बच्चा दुबैको ज्यान जोखिममा हुन्छ । तर पायक पर्ने स्थानमा वर्थिङ सेन्टर नहुनु र अज्ञानताका कारण ३५ प्रतिशत गर्तवतीहरु घरमै सुत्केरी हुने गरेको सामाजिक विकासमन्त्री भण्डारीले उल्लेख गरेका छन् ।
जसका कारण बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । घरमा सुत्केरी हुँदा पाठेघर फुट्ने र अत्यधिक रक्तश्राव जस्ता कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् । कर्णालीमा हाल ३ सय १८ बर्थिङ सेन्टर रहेका छन् । तर बर्थिङ सेन्टर दक्ष जनशक्ति र उपकरण अभाव कारण पनि बर्थिङ सेन्टरमा पुगेका गर्भवतीले समेत ज्यान गुमाउनु परेको छ ।
प्रतिवेदन अनुसार, कर्णालीमा मातृ मृत्युदर प्रति लाखमा एक सय ७२ जना छ, जुन निकै उच्च हो । ‘स्वास्थ्यकर्मीको सहयोगविना असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैका लागि गम्भीर स्वास्थ्य जोखिम उत्पन्न हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यी जोखिमले शारीरिक, स्वास्थ्यजन्य, सामाजिक र कहिलेकाहीँ ज्यानसम्मको क्षति हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्