२०८३ वैशाख ६ , आइतबार

चुनावको नाममा नयाँ शक्ति सम्पर्क र षड्यन्त्र भइरहेको छ: पाेखरेल



सुर्खेत । प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा राष्ट्रिय राजनीति अनिश्चिततामा डुबिरहेको छ । यही परिस्थितिमा नेकपा एमालेले भने आगामी फागुनमा तय भएको निर्वाचन नै हुने/नहुने भन्ने विषयलाई राजनीतिक एजेन्डा बनाएर अघि बढिरहेको देखिन्छ । महासचिव शंकर पोखरेलले शनिबार सुर्खेतमा दिएको वक्तव्यले एमाले चुनावी अनिश्चिततालाई रणनीतिका रूपमा चलाइरहेको संकेत दिएको छ ।

पत्रकार सम्मेलनमा पोखरेलले देशमा “चुनावको नाममा नयाँ शक्ति सम्पर्क र षड्यन्त्र” भइरहेकाे आरोप लगाए । उनका अनुसार पछिल्ला अस्थिर कदमले प्रतिनिधिसभा निर्वाचनको सम्भावना धमिलो बन्दै गएको छ ।

उनले भने, “एमाले असम्भव देखिएको चुनावको पछाडि लाग्दैन । संसद विघटनदेखि सरकार गठनसम्मका प्रक्रियामा धेरै प्रश्न छन् ।” पोखरेलले विघटित प्रतिनिधिसभालाई पुनः सक्रिय बनाएर नयाँ सहमति खोज्नुपर्ने धारणा राखे । उनले विगतमा केपी शर्मा ओलीको संसद विघटनलाई सर्वोच्चले गलत ठहर गरेजस्तै, अहिले पनि संसद पुनःस्थापना हुन सक्ने दाबी गरे ।

जेनजी आन्दोलनमा ‘फेक एकाउन्ट’ धेरै प्रयोग भएकाले आन्दोलन कमजोर देखिएको उनको आरोप छ ।

युवा मतदाता लक्षित गतिविधि तीव्र बनाइरहेको एमालेले अहिले “स्थिरता र संविधानिकता” को एजेन्डा बलियो बनाउँदै छ । यद्यपि, अन्य दलहरू भने निर्वाचन आयोगको तयारीअनुसार आगामी चुनावलाई सम्भावित मानेर अघि बढिरहेका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार