सुर्खेत । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि कर्णालीमा ५ हजार बढी मतदाता थपिएका छन् । थपिएका अधिकांश युवा उमेर समूहकै रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन् । याँ मतदातामध्ये सुर्खेतमा ९० प्रतिशतभन्दा बढी युवा छन् । सुर्खेतमा दैनिक चार सयभन्दा बढीले नाम दर्ता गराइरहेका छन् । कार्यालयका अनुसार हालसम्म २ हजार ४४ नयाँ मतदाता दर्ता भइसकेका छन्, जसमा ९०–९५ प्रतिशत युवायुवती छन । पुराना राजनीतिक दलहरूको सक्रियता भने न्यून रहेको कार्यालयको भनाइ छ ।
उता हुम्लामा दर्ता अभियान सुरु भएयताबाट ९७५ नयाँ मतदाता थपिएका छन् । प्रायः सबै १८ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । यससँगै जिल्लाको कुल मतदाता संख्या ३३ हजार ३०८ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जुम्लामा कात्तिक अन्त्यसम्म एक हजार जनाले नाम दर्ता गराइसकेका छन्। कार्यालयका अनुसार अहिले पनि दर्ता गराउन आउनेको भीड बढिरहेको छ ।
दैलेखमा करिब पाँच सय नयाँ मतदाता थपिएका छन् । सुरुमा सहभागिता न्यून देखिए पनि पछिल्लो समय दैनिक ५५–६० जनाले दर्ता गराउँदै आएका छन् । सल्यानमा १ हजार ५० जनाले नयाँ दर्ता वा अद्यावधिक गराएका छन् । दर्ता गर्नेमा १६–२२ वर्षका युवाहरूको संख्या धेरै रहेको कार्यालयले जनाएको छ। राजनीतिक दलहरूको चासो भने कम देखिएको छ । दर्ता प्रक्रिया कात्तिक ३० गतेसम्म चल्नेछ । रुकुम पश्चिममा ८७२ मतदाता थप रुकुम पश्चिममा ८७२ जना नयाँ मतदाता दर्ता भएका छन्, जसमा ५४५ पुरुष र ३२७ महिला छन् । सर्भर समस्या देखिएपछि कार्यालयले समय बढाएर सेवा दिइरहेको छ । मुगुमा हालसम्म ३२४ जनाको नाम दर्ता भइसकेको छ। दर्ता गर्नेमध्ये अधिकांश ३० वर्ष मुनिका युवायुवती छन् । मुगुमकार्मारोङ र खत्याड गाउँपालिकाबाट बढी दर्ता भएको छ । राजनीतिक दलहरूले सहयोग नगरेको कार्यालयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्