सुर्खेत । कर्णाली प्रदेश सरकारले चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी गरी नौवटा रैथाने बालीलाई सूचीकृत गर्दै संरक्षण र प्रवर्द्धनका लागि ‘मूल्यवान् कर्णाली किसानका सम्पदा’ लोगो लागू गरेको छ।
प्रदेशको पहिचान झल्किने गरी निजी तथा सहकारी क्षेत्रको सहभागितामा तयार गरिएको ‘मूल्यवान्’ लोगोमार्फत उत्पादन, प्याकेजिङ र बिक्रीलाई व्यवस्थित बनाइँदैछ। प्याकेजमा तौल, मिति, ग्रेड र उत्पत्ति स्थल स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अग्र्यानिक उत्पादनका लागि मिल स्थापनाको काम अघि बढाएको छ। डोल्पादेखि सुर्खेतसम्म नौ जिल्लामा बिक्री केन्द्र तथा कोसेली घर स्थापना भइसकेका छन्। मन्त्रालयका अनुसार कर्णालीको रैथाने सिमीमध्ये झन्डै ६० प्रतिशत बाहिरी बजारमा खपत हुन्छ। मन्त्री विनोदकुमार शाहका अनुसार अघिल्लो वर्ष तयार गरिएको मिलको डिपिआरअनुसार चालु आवमा ठेक्का प्रक्रियामा जाने तयारी छ। रैथाने बालीमा ‘मूल्यवान्’ लोगो प्रयोग भएपछि किसानले उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्।
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्