२०८३ वैशाख ६ , आइतबार

ठाँटी मेलाको भलिबल उपाधि बनगाडलाई



सुर्खेत । चिंगाड गाउँपालिका– मटेला स्थित ठाँटी मेलामा जारी अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानको बनगाड कुपिण्डे दह (गणेश निर्माण सेवा) टोलीले जितेको छ।
आईतबार भएको फाइनल खेलमा बनगाड कुपिण्डेले रुकुम पश्चिमको आठबिसकोटलाई पराजित गर्दै उपाधि हात पारेको हो। उपविजेता बनेको आठबिसकोट टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि निर्णायक सेटमा हार मान्नु परेको थियो।
सेमिफाइनलमा बनगाड कुपिण्डेले सुर्खेतको लेखबेशीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने आठबिसकोटले चिंगाडलाई हराएको थियो।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कार्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगितामा विजेता बनगाड कुपिण्डेले ट्रफी, प्रमाणपत्र, मेडल सहित नगद १ लाख ६५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता आठबिसकोटले १ लाख ११ हजार १११ रुपैयाँ, र तेस्रो स्थान हासिल गर्ने टोलीले ५५ हजार ५५५ रुपैयाँ पाएको छ।
त्यस्तै उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, र विभिन्न विधामा उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।
खेल संयोजक खगेन्द्र जिसीका अनुसार फाइनल खेलका क्रममा दर्शकको उत्साह उच्च रहँदा मेलाको माहोल झनै रमाइलो बनेको थियो।

प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार